रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका सहिद परिवारलाई सम्मान गरिएको छ । नगरमा रहेका ८० सहिद परिवारलाई नेकपा माओवादी केन्द्र मुसिकोटले सहिद सप्ताहको अवसरमा सम्मान गरेको हो । १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान गरिएको माओवादी केन्द्र मुसिकोटले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको आयोजना गरी दोसल्ला तथा प्रमाण–पत्रले सम्मान गरिएको माओवादी केन्द्र मुसिकोटका सचिव शुशिल गौतमले बताउनुभयो । त्यस्तै आउने जाने यातायात खर्च पनि पार्टीले व्यहोरेको उहाँले बताउनुभयो ।
सहिद सप्ताहको अवसरमा जिल्लाका ६ वटै पालिकाका सहिद परिवार र घाइते, अपांगहरुलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काको अध्यक्षतामा भएको मुसिकोटका सहिद परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले सहिदको योगदानलाई राज्यले नै कदर गर्नुपर्ने बताउनुभएको छ । पार्टीका तर्फबाट सहिदको योगदान स्मरण गर्ने देखि सहिद परिवारलाई हेर्ने काम भइरहेको उहाँले बताउनुभयो । विभिन्न कार्यक्रम मार्फत सहिद परिवारलाई समेट्ने गरी पार्टी लागिरहेको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, गोपाल शर्मा, सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य देविलाल गौतम, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, मुसिकोट नगर इन्चार्ज जयबहादुर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव शुशिल गौतमले गर्नुभएको थियो ।




-1759842583.jpg)