
सर्वसाधारणलाई सेवा लिन अलमल नपर्न नागरिक सहायता कक्षको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको प्रवेशद्वारमै नागरिक सहायता कक्षको व्यवस्थाले सेवाग्राहीलाई सेवा लिन सहज भइरहेको हो ।
कक्ष परिसरमै दुई किसिमको सेवा प्रवाह गरिएको छ । पढ्न सक्नेका लागि शाखागत सहितको सेवा प्रवाहको बारे स्पष्ट रूपमा प्लेकार्डमा लेखिएको छ भने पढ्न नसक्नेको लागि कक्षको डेस्कमा दुई जना व्यक्तिको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । कार्यालयमा पर्याप्त कर्मचारी नभएकाले जिल्लाको सिस्ने शिक्षा क्याम्पसका विद्यार्थीलाई राखिएको सुनुवारले जानकारी दिनुभयो ।
“क्याम्पसका विद्यार्थीलाई राख्दा दुबै पक्षलाई फाइदा भइरहेको छ” प्रजिअ सुनुवारले भन्नुभयो –“कर्मचारी अभावले सेवा प्रवाह गर्नमा हामीलाई मद्दत भएको छ । अर्काे तर्फ विद्यार्थीको कलास बिहान भएकाले दिउँसो फुर्सतको समयमा विद्यार्थीले कार्यालयको कामकाजको अवस्थाबारे अभ्यास गर्न पाएका छन् ।” बिएडमा अध्ययनरत विद्यार्थीलाई फुर्सतको समयमा सेवाग्राहीसँगको घुलमिलले भविष्यमा उहाँहरूको काम अनुभवको प्रमाणसँगै क्षमतामा अब्बल हुने विश्वासका साथ क्याम्पससँगको सम्झौता अनुसार नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गरिएको प्रजिअ सुनुवारको भनाइ रहेको छ ।
गाउँबाट नागरिकता, राहदानी, कागजात सच्याउने लगायत सेवाका लागि जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राही सन्तुष्ट भएर फर्किने गरेको नागरिक सहायता कक्षका पवित्रा बुढाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले कुन सेवाग्राहीको काम कतिबेला सकिन्छ भनेर सुरुमै जानकारी दिने गरेको बुढाको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्षमा स्वयमसेवक क्याम्पसका विद्यार्थीलाई व्यवहारिक ज्ञान थप भएको क्याम्पस प्रमुख तीब्र गौतमले बताउनुभयो । जिल्ला प्रशासन जस्तो ठाउँमा विद्यार्थीले काम सिक्ने अवसर पाउनु भनेको सामान्य खालको नभएको प्रमुख गौतमको भनाइ रहेको छ । “प्रजिअले विद्यार्थीलाई काम सिक्ने अवसर जुराइ दिनु भएको छ” गौतमले भन्नुभयो –“विद्यार्थीले यसको सदुपयोग गरिरहेका छन् ।” हप्तामा दुई/दुई जना विद्यार्थीको पालो पर्ने गरेको छ ।
नागरिकताको प्रतिलिपी लिन आएका पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का रमन बिकले हाल कार्यरत प्रमुख जिल्ला अधिकारीको नयाँनयाँ सेवामैत्री सेवाबारे प्रशंसा गर्नुभयो । कार्यालय हाता भित्रै “पर्याप्त फर्निचर सहितको आकर्षक प्रतीक्षालय, सेवाग्राही पुस्तकालय, फ्रि वाइफाईको सुविधा रहेको छ” बिकले भन्नुभयो –“छेउमै खानेपानी धारा, शौचालय गएर आएपछि हातधुने साबुनपानी ।”
“सुरुमा प्रशासन कार्यालय भित्र आयो र सेवा प्रवाहबारे नागरिक सहायता कक्षमा सोध्यो” अर्का सेवाग्राही सर्मिला बुढामगरले भन्नुभयो –“त्यसपछि कार्यालयबाट सेवा लियो, बाहिरीले बेला पुनः कक्षमै सेवा प्रवाहमा देखिएको अवस्थाबारे गुनासा तथा सुझाव लेख्यो ।”
“चुस्त र गुणस्तरीय सेवा पाउने नागरिकको अधिकार, जिल्ला प्रशासन कार्यालय सदैव त्यही दिशामा अग्रसर हुनु पर्ने हाम्रो कर्तव्य हो” प्रजिअ सुनुवारले थप्नुभयो –“तपाईको समस्या हाम्रो काम, तपाईको सन्तुष्टि हाम्रो शान भन्ने नाराका भाव अनुसार सेवाग्राहीका गुनासा तथा सुझाव अनुरूप थप सरल र गुणस्तरीय सेवा प्रवाह थप गर्दै अघि बढिरहेका छौँ ।”