Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास 

रुकुम पश्चिममा आगलागी सम्बन्धी संयुक्त नमुना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा मुसिकोट नगरपालिका १ खलंगाको बराहटाकुरामा नमुना अभ्यास गरेको हो । 

समुदायमा आगलागी भयो भने कसरी नियन्त्रण गर्ने र ग्यास सिलिण्डर लिक भएर आगोलागी हुने अवस्था आएमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नमुना अभ्यास गरिएको नेपाली सेनाको नरसिंह दल गणका गणपति प्रमुख सेनानी प्रमोद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगलागीबाट घाइते भएकाको उद्धार सम्बन्धी अभ्यास पनि गरिएको थियो । अहिलेको समयमा आगलागीको बढी जोखिम हुनेभएकोले सम्भावित जोखिमलाई कम गर्नका लागि नमूना अभ्यास गरिएको उहाँको भनाई छ । 

IMG_56631680708622.jpg

कुनैपनि विपतका घटना आइलागेमा त्यसको नियन्त्रण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन हुने भएकोले तीन वटै सुरक्षा निकायको टोलीले संयुक्त रुपमा नमुना अभ्यास गरेको प्रमुख सेनानी शर्माले बताउनुभयो । 

सिजन अनुसारको विपतका घटनासंग जुध्नका लागि सोही अनुसारको नमुना अभ्यास गर्ने गरिएको उहाँले बताउनुभयो । यो क्रम वर्षेनी रुपमा चल्ने गरको शर्माले बताउनुभयो । 

IMG_56681680708630.jpg

नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रमुख सेनानी प्रमोद शर्मा, प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रोग्मी लगायतको उपस्थिति रहेको थियो ।

IMG_56661680708633.jpg

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update