
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई दिदी बहिनी मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा दुई बालिका पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आशंकामा सोही गाउँका दुई बालिकालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
उनिहरु वडा नम्बर ४ को घुन्मा भन्ने ठाउँबाट पक्राउ परेका हुन् । त्यस्तै प्रहरीले दुई दिदी बहिनीले लगाएका गहना बरामद गरेको छ । शंकास्पद दुई बालिकालाई सोधपुछ गर्दा उनिहरुले भनेको ठाउँमा खोज तलास गर्दा काँडा भन्ने ठाउँमा घर बाहिरै लुकाएर राखेको अवस्थामा सुन भेटिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
रन्माका तारामान बुढाका २ छोरी ११ वर्षिया रीना बुढामगर र ९ वर्षिया कालिमाया बुढामगर चैत्र २३ गते घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका थिए । २२ गते दिउँसो सिस्नो टिप्न भनेर घरबाट निस्किएका उनिहरु साँझ घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । उनिहरुले लगाएका गर गहना लुटेर लगेको र हत्या गरेर भीरमा फालिएको अवस्थामा फेला पारिएको थियो ।
यसैविच दिदी बहिनीको पोष्ट मार्टम गरिएको छ । शनिबार जिल्ला अस्पताल रुकुमकोटमा उनिहरुको पोष्ट मार्टम गरेर शव परिवारको जिम्मा लगाइएको डिएसपी श्रेष्ठले बताउनुभयो । घटनाको अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ ।