Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबल भोलीबाट, ११ टिमले प्रतिस्पर्धा गर्दै 
पत्रकार भेटघाट कार्यक्रम ।

रुकुम कप खुला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा साविकको मध्यपश्चिमाञ्चलका जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्दै छ । आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आयोजकले तयारी पुरा भएको जानकारी गराएको हो ।

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बि.एम.ले प्रतियोगिता पूर्व निर्धारित समयमै भोली देखि संचालन हुन लागेको र तयारी पुरा भएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म ५ जिल्ला, एक विभागिय (सशस्त्र प्रहरी) र रुकुम पश्चिमका ५ वटा गरी ११ वटा टिमले भाग लिने निश्चित भएको बि.एम.ले बताउनुभयो । 

भोली बिहानसम्ममा केही टिम थपिन सक्ने समेत उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक टिकट शुल्क तोकिएको छ । जसअनुसार प्रतियोगिता स्थल घेरबार, व्यवस्थित मञ्च निर्माण, साउण्ड सिस्टम, कोर्ड व्यवस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजकको भनाई छ । अफिसियल टिम पनि आइसकेको बताइएको छ । यसपटक रेफ्रिको टिम जिल्ला बाहिरबाट ल्याइएको छ । 

प्रतियोगिताका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको र व्यवस्थित रुपमा संचालन गर्न लागिएकोले टिकटको व्यवस्था गरिएको अध्यक्ष बि.एम.ले बताउनुभयो । देशका धेरै ठाउँमा शुल्क लिने गरिएपनि जिल्लामा भने पहिलो पटक शुल्क लिन लागिएको उहाँले बताउनुभयो । 
यो नयाँ सुरुवात भएको र यसले भोलीका दिनमा अझ राम्रा प्रतियोगिता संचालनका लागि सहयोग पुग्ने विश्वास उहाँको छ । यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठूलो भएको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंया पाउने छ । उप विजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १÷१ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । 

विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५÷५ हजार पुरस्कारको व्यवस्था गरिएकोको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगिताको पुरस्कार राशिमा मात्र १० लाख रुपैयाँ खर्च लाग्ने र अन्य सबै खर्च गरेर १५ लाख बढी पुग्ने अध्यक्ष बि.एम.ले बताउनुभयो । 

कुनै निकायबाट सहयोग नहुँदा नहुँदै पनि जोखिम मोलेर प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ । रुकुम भलिबलमा राम्रो टिम हुँदा हुँदै पनि सरकार तथा सरोकारवाला निकायबाट कुनै पहल नुहँदा खेलाडी विदेशिन बाध्य भएको र जिल्लाको स्तर खस्किदो अवस्थामा रहेकोले आफुले बाध्य भएर प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । 

१ वर्ष पछि कर्णाली प्रदेशमै आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर समेत प्रतियोगिता आयोजना गरिएको उहाँले स्पस्ट पार्नुभयो । खेलकुदको उत्सव कर्णालीमै आयोजना हुन लाग्दा पनि यहाँ कुनै तयारी नथालिनु दुःखद भएको उहाँको गुनासो छ । साथै उहाँले राज्यले खेलकुदमा लगानी गर्नै नचाहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । 

जति भन्दा पनि कतैबाट कुनै सुनुवाई नभएपनि आफुले व्यक्तिगत रुपमा सहयोग जुटाएर र टिकटको व्यवस्था गरेर भएपनि प्रतियोगिता आयोजना गर्ने जोखिम उठाएको उहाँले बताउनुभयो । जिल्लाको हितका लागि आयोजना गरिएको प्रतियोगितामा उपस्थित भएर सहयोग गर्न उहाँले जिल्लावासीलाई अनुरोध पनि गर्नुभएको छ । भोलीबाट सुरु हुने प्रतियोगिता बैशाख २४ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update