Kakhara सबैको खबर सम्पूर्ण खबर
सर्वाधिक पुरस्कार राशिकाे रुकुम कप भलिबल आजबाट 

सर्वाधिक पुरस्कार राशिको रुकुम कप खुला पुरुष भलिबल आजबाट सुरु हुँदै छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा प्रतियोगिता संचालन हुन लागेको छ । उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिहान ११ बजे उद्घाटन गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बि.एम.ले जानकारी दिनुभयो । प्रतियोगिता आजबाट सुरु भई बैशाख २४ गतेसम्म संचालन हुने छ ।

प्रतियोगिता लिक कम नकआउट सिस्टममा खेलाइने छ भने प्रत्येक खेल वेष्ट अफ फाइभका हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एक विभागिय टिम (सशस्त्र प्रहरी), ५ जिल्ला र रुकुम पश्चिमका ५ वटा गरी ११ टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष बिएमले बताउनुभयो । यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठूलो भएको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंया पाउने छ । उप विजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएकोको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगिताको पुरस्कार राशिमा मात्र १० लाख रुपैयाँ खर्च लाग्ने र अन्य सबै खर्च गरेर १५ लाख बढी पुग्ने अध्यक्ष बि.एम.ले बताउनुभयो । प्रतियोगिता हेर्न १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।    

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update