Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व अर्थमन्त्री शर्माद्धारा गृहजिल्लामा जनभेटघाट सुरु, विभिन्न आयाेजनाकाे निरिक्षण 

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिममा जनभेटघाट सुरु गर्नुभएको छ । जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरी उहाँले हिजोबाट जनभेटघाट कार्यक्रम सुरु गर्नुभएको हो । उहाँका साथमा नेकपा माओवादी केन्द्रका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेता कार्यकर्ताहरु पनि जोडिएका छन् । 

उहाँले हिजो बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा जनभेटघाट गर्नुभएको छ । झुलाठाँटी, छिन्खेत, पिपल, लागिम लगायतका ठाउँमा जनभेटघाट गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । जनताका पीर मर्का बुझ्न, सुझाव लिन र चालु अवस्थामा रहेका आयोजनाहरुको अनुगमनका लागि समेत पूर्व मन्त्री शर्माले जनभेटघाट थालेको रोकाले बताउनुभयो । 

त्यस्तै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले रातामाटा–राउखेत–घ्युखोला–मध्यपहाडि लोकमार्ग र निर्माणाधिन गाराघाट पुलको निरिक्षण गर्नुभएको छ । आज उहाँ जिल्लाको चौरजहारी नगरपालिका जाँदै हुनुहुन्छ । भोली आठबीसकोट नगरपालिका, बैशाख २३ गते सानीभेरी गाउँपालिका र २४ गते त्रिवेणी गाउँपालिकामा जनभेटघाटको कार्यक्रम रहेको जिल्ला संयोजक रोकाले बताउनुभयो । 

उहाँका साथमा पार्टीका केन्द्रीय सदस्य बसन्तकुमार शर्मा, गोपाल शर्मा, महेन्द्र केसी, गोर्खबहादुर केसी लगायतको टोली रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update