रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाले आज ९ नम्बर वडाको राडी बजार र ११ नम्बर वडाको सिमबजारका विभिन्न पसल र होटलहरुमा अनुगमन गरेको हो । गुणस्तरहिन, म्याद गुज्रिएका खाद्य वस्तुको मारमा उपभोक्ता नपरुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
उहाँँका अनुसार किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग, कोल्ड स्टोर, कस्मेटिक लगायतका पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रम म्याद गुुज्रिएका सामान, मुल्य सूचि नराखिएको पाइएको छ । त्यस्तै अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण भए नभएको, व्यवसायीले पसलको बोर्ड राखे नराखेकोे समेत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा केही मात्रामा म्याद गुज्रिएका सामान फेला परेकाले बरामद गरिएको छ । चाउचाउ, चनाको सातु, गुल्कोज, चक्लेट, विस्कुट, फ्रुटी लगायतका सामान बरामद गरिएको हो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामान नष्ट गरिएको नगरपालिकाले जनाएको छ । कालोबजारी रोक्न तथा गुणस्तरहिन सामान विक्रि वितरण गर्नेलाई सचेत बनाउने उदेश्यले बजार अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाई छ ।
नगर उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अवका दिनमा पनि यस्ता समस्या देखिएमा कारवाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।