
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले निष्कृय पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको छ । लामो समय देखि पत्रकारितामा नरहेका र फरक पेसामा रहेकाहरुलाई साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको हो ।
सदस्यता शुद्धिकरण अभियान अन्तर्गत हिजो पत्रकारितामा रहेका र सो बेला साधारण सदस्यता लिएका तर अहिले पत्रकारितामा निष्कृय रहेका व्यक्तिहरुलाई सदस्यता आफैले त्यागेको घोषणा गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
यसका लागि महासंघले सूचना जारी गरेको छ । आईतबार महासंघले जारी गरेको सूचनामा महासंघको केन्द्रिय समितिबाट जारी भएको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार विगतका दिनमा पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका र हाल पत्रकारितामा क्रियाशिल नरहनुभएका, शाखामा आबद्ध साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा साधारण सदस्यता त्यागको स्व–घोषणा लागि आह्वान गरिएको छ ।
हाल नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका साधारण सदस्य १ सय ३ जना रहेका छन् । तर अधिकांश पत्रकारितामा सक्रिय छैनन् । सदस्यता शुद्धिकरण अभियान अन्तर्गत जिल्लाका पत्रकार तथा पत्रकार संघ संगठनहरुसंग पनि छलफल भइरहेको अध्यक्ष केसीले बताउनुभयो ।
यसअघिका वर्षहरुमा पनि सदस्यता शुद्धिकरणका कुरा उठ्ने गरेपनि शुद्धिकरण हुन नसकेकामा यो पटक भने त्यस्तो नहुने उहाँको भनाई छ ।