रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना तिर्सिङमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । घट्टेखोला तिर्सिङ टोलमा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद रुपमा कोलो टेपले बेरिएका रेडबुलका डिम्बाहरु भेटिएको स्थानीय टेकबहादुर बिकले जानकारी दिनुभयो । गाउँ नजिकै केतुकीको बुटामा लुकाएर राखेको अवस्थामा उक्त वस्तु फेला परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार १३ वटा जति रेडबुलका डिम्बाहरु भेटिएका छन् । आज दिउँशो स्थानीयले उक्त वस्तु फेला पारेका हुन् । चर्न गएका गोरु लिन जानेक्रममा स्थानीयले उक्त वस्तुलाई देखेको बताइएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । नेपाली सेनाको टोली घटनास्थल तर्फ गइरहेको डिएसपी भट्राइले बताउनुभयो ।