Kakhara सबैको खबर सम्पूर्ण खबर
जिप दुर्घटना अपडेटः ५ जनालाई नेपालगञ्ज रेफर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगाको त्रिवेणी चोकबाट डिग्रे जाँदै गरेको जिप दुर्घटनामा परि घाइते ५ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि ५ जनालाई समिट एयरको विमान मार्फत नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । 

रेफर हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ५ की सरस्वती केसी, वडा नम्बर ३ की ५५ वर्षिया लिला केसी, वडा नम्बर १३ की ५० वर्षिया सुबि रोका, सोही ठाउँकी ८ वर्षिया बर्षा केसी र ३३ वर्षिया टीका केसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । 

उहाँका अनुसार घाइते मध्ये बर्षा बाहेक अन्यको अवस्था सामान्य रहेको छ । बर्षाको बायाँ खुट्टाको तिघ्राको हड्डी निस्किएको छ । बाँकी घाइते मध्ये ३ जना डिस्चार्ज भएको र २ जनाको जिल्ला अस्पतालमा उपचार भएको प्रहरीले बताएको छ । डिस्चार्ज हुनेमा मुसिकोट ३ की १३ वर्षिया सुजिता केसी, सोही ठाउँकै १४ वर्षिया दक्षिणा केसी र दाङ शान्तिनगर ४ की २५ वर्षिया टीका ओली केसी रहनुभएको छ । 

त्यस्तै मुसिकोट ३ की १२ वर्षिया करिना केसी र मुसिकोट १ की ३५ वर्षिया बिनिता केसीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । त्रिवेणी चोकबाट रावलबारा हुँदै डिग्रे जान लागेको भे १ च २७९६ नम्बरको जिप स्टार्ट गर्ने क्रममा उकालोमा ब्रेकले काम नगरी पछाडि सर्दा सडकबाट ६ मिटर तल अर्को सडकमा खसेको थियो ।

आज बिहान भएको दुर्घटनामा परि १० जना घाइते भएका थिए । जिपमा १२ जना सवार रहेकामा चालक सहित २ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update