
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आयोजित कर्मचारीहरुविचको ब्याडमिन्टनमा इश्वर रावल र कबिन्द्र पुनको जोडी प्रथम भएको छ । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको स्थापना दिवसको अवसरमा खलंगाको बराहटाकुरामा अवस्थित कबर्डहलमा संचालन भएको प्रतियोगितामा २३ जोडीले प्रतिस्पर्धा गरेकामा इश्वर र कविन्द्रको जोडी प्रथम भएको हो ।
यो जोडीले आज बिहान भएको फाइनलमा बलबहादुर बुठाथोकी र भावेश बोहराको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । विजेता इश्वर र कबिन्द्रको जोडीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बलबहादुर र भावेशको जोडीले नगद १० हजार ट्रफि, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

सेमिफाइनलसम्म पुग्ने भागिराम भण्डारी र खड्क विश्वकर्मा तथा दिपक बुढाथाेकी र भुपेन्द्र ओली को जोडीले समान ५ हजार नगद, मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजक राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले जनाएको छ । प्रतियोगितामा रुकुम पश्चिम र रुकुम पूर्वका कर्मचारीहरुले भाग लिएका थिए । आइतबारबाट सुरु भएको प्रतियोगिता आज सकिएको हो । खेल सम्पन्न भएपछि पुरस्कार वितरण तथा चियापान कार्यक्रम संचालन भएको थियो ।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन रुकुम पश्चिमका अध्यक्ष डिल्लीराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सचिव इश्वर रावलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र मुसिकोट नगर इन्चार्ज जीवन बुढा, सचिव शुशिल गौतम, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य मानबहादुर खत्री, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य विवेक बुढाथोकी, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश सदस्य हिरा पुनले गर्नुभएको थियो ।