रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुली स्याँलाका मोहन कुसारी १० वर्ष अघि अमेरिका जानुभयो । ३२ वर्षीय कुसारी हाल गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । यसअघि उहाँले २ वर्षे कार्यकाल रहेको एनआरएनए टेक्ससको उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरिसक्नुभएको छ । गत जुलाई महिनामा भएको अधिवेशनबाट एनआरएनए अमेरिकाको केन्द्रीय सदस्यमा उहाँ भारी मत सहित विजयी हुनुभयो । उहाँ ३ हजार ५ सय मत प्राप्त गर्दै १२ सदस्यीय एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएको हो । जसमा ८ जना पुरुष र ४ जना महिला रहेका छन् । सामाजिक सेवा भावले आफूलाई जहिले पनि झकझक्याइरहने कुसारी बताउनुहुन्छ । ‘म मा सानै देखि नै सेवा भाव थियो, दुःखमा रहेकालाई सकेको सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, धेरैलाई सकेको सहयोग पनि गरेको छु, त्यही भावले म एनआरएनएमा जोडिन पुगेँ’, उहाँले भन्नुभयो । ‘म मा केही देखेर नै होला साथीहरूले विश्वास गरेर एनआरएनए अमेरिकाको केन्द्रीय सदस्यमा आफ्नो अमूल्य मत दिएर जिताउनुभएको छ, उहाँले थप्नुभयो–मैले यसलाई मेरो जीवनको ठुलो उपलब्धिको रूपमा लिएको छु र चुनौतीका रूपमा समेत ।’ आफ्नो २ वर्षे कार्यकालमा अमेरिकामा रहेका नेपालीहरूका लागि केही न केही काम गर्ने उहाँको योजना छ । उनै कुसारीसंग हामीले कुराकानी गरेका छौँ । उक्त कुराकानीको सार संक्षेप प्रस्तुत छ ।
अमेरिकामा रहेका नेपालीको सङ्ख्या यकिन गर्छौँ
पछिल्लो समय अमेरिकामा धेरै नेपालीहरू हुनुहुन्छ । हाम्रो जिल्ला रुकुम पश्चिमबाट पनि धेरै जना अमेरिकामा हुनुहुन्छ । अमेरिकामा करिब ५ लाखको सङ्ख्यामा नेपालीहरू रहेको अनुमान छ । खास तथ्याङ्क अहिलेसम्म छैन । अब हामी अमेरिकामा नेपालीको खास सङ्ख्या पत्ता लगाउँदै छौँ । यसका लागि अमेरिकामा रहेका नेपालीको सङ्ख्या गणना कार्यक्रम सञ्चालन गर्ने योजना छ । त्यस्तै एनआरएनएमा सदस्य सङ्ख्या बढाउने योजना छ । अहिले हामीसङ १६ हजारको सङ्ख्यामा सदस्य हुनुहुन्छ । अर्को अधिवेशनसम्म यसलाई बढाएर ५० हजार पुर्याउने लक्ष छ । यसअघि अधिवेशनलाई लक्षित गरेर मात्र सदस्यता वितरण खुलाइन्थ्यो । तर अहिले भने हामीले नियमित रूपमा सदस्यता लिन सकिने व्यवस्था गरेका छौँ । यसले गर्दा सदस्य सङ्ख्या बढ्ने विश्वास छ । त्यस्तै हामी गैर आवासीय नेपालका लागि अङ्गीकृत नागरिकताको विपक्षमा छौँ । हामीले नेपाली नागरिकता त्यागेका छैनौँ । हामीले गैर आवासीय नागरिकताको माग गरिरहेको छौँ । संविधानमा व्यवस्था भए अनुसार गैर आवासीय नागरिकताको उपलब्ध गराइनु पर्छ भन्ने हाम्रो माग हो ।
कोही पनि नेपालीले पेसागत असुरक्षा भोग्नु नपरोस् भनेर संस्थागत तथा व्यक्तिगत रूपमा पनि ध्यान गएको छ । यसका लागि के कसरी अगाडी बढ्न सकिन्छ र कस्ता कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर हामी छलफलमै छौँ ।
कार्य विभाजन गर्दै छौँ
कामलाई चुस्त र प्रभावकारी बनाउनका लागि बोर्डमा कार्य विभाजन गर्दै छौँ । विभिन्न क्षेत्र तोकेर जिम्मेवारी बाँडफाँडको तयारी गरिएका छ । यसले गर्दा काममा चुस्तता आउने र देखिने गरी काम गर्न सकिने विश्वास लिएका छौँ । मैले इमिग्रेसन (अध्यागमन)को जिम्मा लिने सोचेको छु । अमेरिका आउने धेरै साथीहरूले अध्यागमनमा दुःख खेप्नुपरिरहेको छ । यसलाई हल गर्नका लागि मेरो अहिलेसम्मको अनुभवले काम गर्न सक्छु जस्तो लागेर नै मैले इमिग्रेसनको जिम्मा लिने गरी छलफल चलाएको छु । ‘अमेरिका आउने नेपालीहरूले भोग्नुपरेका सबै दुःखप्रति हामी गम्भीर छौँ, त्यसैअन्तर्गत इमिग्रेसन पनि पर्छ’ उहाँले भन्नुभयो । कार्य विभाजन गर्न सकियो भने विषयगत समस्याहरूलाई हल गर्न टेवा पुग्ने र एनआरएनएको भूमिका पनि बढ्ने विश्वास गरेको छु । यसबारेमा छलफल चलिरहेको छ र सम्भवतः अबको बोर्ड मिटिङले यसबारेमा निर्णय गर्न सक्छ ।
अध्ययनमा सहयोग पुगोस् भनेर अमेरिकामा रहनुभएका नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिरहेका छौँ ।
कोष खडा गर्दै छौँ
अमेरिकामा पुग्नुभएका धेरै व्यक्तिले विभिन्न कारणले दुःख भोगिरहनुभएको छ । कोहीले बिरामी भएर, कोही घाइते भएर तथा कतिले ज्यानै समेत गुमाउनु परिरहेको छ । भई परि आउने अवस्थाका लागि अब कोष खडा गरेर अघि बढ्नुपर्छ भन्ने निचोडमा हामी पुगेका छौँ । ‘गो फन्ड मि’ अभियान चलाएर कोष खडा गर्ने र कोषमा जम्मा भएको रकमबाट बिरामी भएकाहरूलाई उपचारमा सहयोग गर्ने, दुःखमा परेकालाई राहत दिने देखि कसैको मृत्यु भएका शव नेपाल पठाउन सहयोग गर्नेसम्मका काम गर्ने गरी सोचिएको छ,’ उहाँले भन्नुभयो । कोषका लागि पनि हामी छिट्टै निर्णय गर्दै छौँ ।
नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौँ
अध्ययनमा सहयोग पुगोस् भनेर अमेरिकामा रहनुभएका नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिरहेका छौँ । हामी निर्वाचित भइसकेपछि ५ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेका छौँ । पढाइमा सहयोग पुगोस् भनेर ५ जनालाई प्रति विद्यार्थी २–२ हजार डलर छात्रवृत्ति वितरण गरिएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र थप विस्तार गर्दै लैजाने योजना छ । कोही पनि विद्यार्थी समस्यामा नपरोस् भनेर हामी गम्भीर छौँ ।
सबैलाई देशको चिन्ता छ । कसरी हुन्छ देशलाई सकेको योगदान गर्नुपर्छ भन्ने भावना सबै साथीहरूमा देखिन्छ । संस्थागत रूपमै देशमा कसरी सेवा गर्न सकिन्छ भनेर पनि हामी सोचिरहेका छौँ ।
पेसागत सुरक्षाका लागि गम्भीर छौँ
अमेरिका भन्ने बित्तिकै मान्छेहरूले लाखौँ कमाउँछन् भन्ने मात्र सोच्छन् । तर यहाँ समस्याहरू पनि थुप्रै छन् । भने अनुसारको काम नपाउने देखि विभिन्न कारणले पेसागत असुरक्षाको अवस्थाहरू पनि रहेका छन् । हामी नेपालीहरूले भोग्नु परेका सबै दुःखप्रति जानकार छौँ । त्यसैले हामी पेसागत हकहित र सुरक्षाका लागि गम्भीर छौँ । हामीले व्यक्तिगत रूपमा पनि दुःख पाएकाहरूलाई सहयोग गरिरहेका छौँ र संस्थागत रूपमा पनि उनीहरूका आवाज उठाइरहेका छौँ । सबै खालका पेसागत असुरक्षाका विषयमा हामी गम्भीर भएर लागिरहेका छौँ । कोही पनि नेपालीले पेसागत असुरक्षा भोग्नु नपरोस् भनेर संस्थागत तथा व्यक्तिगत रूपमा पनि ध्यान गएको छ । यसका लागि के कसरी अगाडी बढ्न सकिन्छ र कस्ता कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर हामी छलफलमै छौँ । त्यस्तै अमेरिकामा रहनुभएका नेपालीहरूका लागि मनोपरामर्श, छलफल, सुख, दुःख आदानप्रदान, परामर्श जस्ता कार्यक्रमहरूका लागि पनि हामी सचेत छौँ । यस्ता कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्छौँ ।
अमेरिकामा रहेपनि देशप्रतिकाे माया अगाध छ
बाध्यात्मक अवस्थामा धेरै नेपालीहरू अमेरिकामा हुनुहुन्छ । नेपालको माया सबैलाई औधी छ । रोजगारीका लागि अमेरिकामा रहे पनि आफ्नो गाउँ ठाउँलाई माया गरिरहनुभएको छ, गरिरहेका छौँ । हामीले सकेसम्म आफ्नो गाउँ विकासका लागि योगदान गरिरहेका छौँ । हामीले संस्थागत रूपमा पनि आफ्नो गाउँ ठाउँको लागि केही गर्नुपर्छ भनेर छलफलहरू चलाउने काम भइरहेको छ । तर साथीहरूले स्वतः स्फूर्त रूपमा पनि अमेरिकाबाटै गाउँ विकासको अभियान चलाइरहनुभएको छ । सबैलाई देशको चिन्ता छ । कसरी हुन्छ देशलाई सकेको योगदान गर्नुपर्छ भन्ने भावना सबै साथीहरूमा देखिन्छ । संस्थागत रूपमै देशमा कसरी सेवा गर्न सकिन्छ भनेर पनि हामी सोचिरहेका छौँ । यसमा पनि हामी केही कार्यक्रम तय गर्छौँ ।