Kakhara सबैको खबर सम्पूर्ण खबर
शिद्ध गुफा गोल्ड कपको उपाधि आयाेजककाे पाेल्टामा पर्ने पक्का 
फाइनल पुगेकाे आयाेजक ए (राताे जर्सि) र आयाेजक बि (सेताे जर्सि) ।

पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधि आयाेजकका पाेल्टामा पर्ने पक्का भएकाे छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा जारी पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधिका लागि आयोजक सल्लेका दुई टिम बिचमा प्रतिस्पर्धा हुने भएको हो । आज भएको सेमिफाइनलमा आ आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै आयोजक सल्ले ए र बि टिम फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल भोली हुने भएको छ ।

यस संस्करणमा आयोजकले उपाधि पक्का गरेको छ । फाइनल जसले जिते पनि उपाधि आयोजककै पोल्टामा पर्ने भएको हो । आयोजक ए टिमले फाइनल यात्रा सुरक्षित गर्न युनिक ब्वाइज एफसी खलङ्गालाई पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलमा सल्ले ए ले युनिक ब्वाइजलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्‍यो । निर्धारित समयको खेल १–को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

दोस्रो सेमिफाइनलमा आयोजक बि ले न्यु मुन लाइट बोर्डिङ स्कुललाई पराजित गर्‍यो । सहज खेलमा आयोजक बि ले न्यु मुन लाइटको पोस्टमा ४ गोल गर्‍यो । जसमा दुई गोल आत्मघाती थिए । फाइनल खेल भोली दिउँसो २ बजे हुने सल्ले यूथ क्लबका अध्यक्ष भागिराम बोहराले जानकारी दिनुभयो । यस प्रतियोगितामा विभिन्न ठाउँका २८ वटा समूहले भाग लिएका थिए ।

खेल एभेन ए साइडमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले ६० हजार ९ सय ९९ र उपविजेताले ३० हजार ९ सय ९९ रुपैयाँ र ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट उदयमान खेलाडी र फेयर प्ले अवार्ड गरी व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने छ ।    

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update