
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा भएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लाग्दै आएको चौतारा मेलाको अवसरमा खुला पालिका स्तरीय महिला, पुरुष भलिबलका साथै पुरुष ब्याडमिन्टन सञ्चालन भएका थिए । मङ्सिर ७ गते देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
रुकुम पश्चिम लगायत अन्य जिल्लाका १२ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबलमा सानीभेरी गाउँपालिका विजयी भएको छ । आज भएको फाइनलमा आठविसकोट नगर खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गर्दै सानीभेरी गाउँपालिका विजयी भएको हो ।
विजेता सानीभेरी गाउँपालिकाले नगद २ लाख ५० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता भएको आठविसकोट नगर खेलकुद विकास समितिले नगद १ लाख ६० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको मेला आयोजक समितिका सचिव घनश्याम शाहले जानकारी दिनुभयो । यस्तै सान्त्वना भएका बाँफिकोट र आठविसकोट ११ ले नगद ५५-५५ हजारको साथमा कप मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् ।
यस्तै महिला भलिबलमा आठविसकोट नगर खेलकुद विकास समिती विजयी भएको छ । त्यस्तै उपविजेता बाँफिकोट गाउँपालिका भएको छ भने सान्त्वनामा सानीभेरी गाउँपालिका र गलकोट नगरपालिका बागलुङ भएका छन् ।
-यसअघि सानीभेरी गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ-सम्पादक