Kakhara सबैको खबर सम्पूर्ण खबर
३.३ मेगावाट क्षमताको स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास 
आयाेजनाकाे शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर तीन भाग्लेमा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । रुकुम पश्चिमका स्थानीय तहको स्वामित्व रहने गरी स्यार्पू पावर कम्पनीद्वारा निर्माण हुन लागेको ३.३ मेगावाट क्षमताको आयोजनाको आज प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले आयोजनाको शिलान्यास गर्नुभयो । यस आयोजनाको निर्माण एक वर्षमा सक्ने लक्ष राखिएको छ ।

स्यार्पू तालबाट निस्किने तिल्चा खोलाबाट जलविद्युत उत्पादन गर्ने गरी विगत दुई वर्ष देखि तयारी थालिएको हो । आयोजनाको डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, लगानी सुनिश्चित, बिद्युत् खरिदको सम्झौता लगायतका तयारी सम्पन्न गरे पश्चात् आयोजनाको शिलान्यास भएको कम्पनीका कार्यकारी निर्देशक प्रदीप ओलीले जानकारी दिनुभयो ।

कुल ५७ करोड लागतमा आयोजना निर्माणका काम सुरु भएको उहाँले बताउनुभयो । कुल लागत मध्ये ५४ प्रतिशत रुकुम पश्चिमका स्थानीय तह, १ प्रतिशत सङ्घीय अर्थ मन्त्रालय र बाँकी ४५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको शेयर लगानी रहने कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आयाेजनामा स्थानीय तहले १२ कराेड लगानी गर्नुपर्नेमा ६ कराेड लगानी गरिसकेकाे र ६ कराेड बाँकी रहेकाे तथा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिइने छ । निर्माणकाे आधा काम सकिएपछि शेयर आह्यवान गरिने बताइएकाे छ । 

यस आयोजना निर्माणका लागि दुई वटा कम्पनीले ठेक्का लिएका छन् । पाइप र पावर हाउस निर्माणको जिम्मा २४ करोडमा साकुरा पावरले लिएको छ भने उपकरणको ठेक्का जर्मनीको टोयर ए.जी.ले लिएको ओलीको भनाई छ । एक वर्षमा निर्माण सक्ने गरी निर्माण व्यवसायीहरू सँग सम्झौता भएको उहाँले बताउनुभयो । सम्झौता अनुसार समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायी साकुरा पावरका प्रतिनिधि योगेन्द्र कँवरले प्रतिबद्धता समेत जनाउनुभयो ।

यसैबिच स्यार्पू पावर कम्पनी र नेपाल प्राधिकरण बिचमा वार्षिक एक करोड ८३ लाख युनिट बिद्युत् खरिद बिक्री गर्ने सम्झौता भइसकेको छ । यसबाट स्यार्पू पावर कम्पनीले पहिलो वर्ष ११ करोड रुपैयाँ पाउने छ । यसअघि नै निर्माण सम्पन्न गर्ने गरी आयोजनाको परिकल्पना गरिएको भए पनि कोभिड–१९ का कारण ढिलाइ भएको कार्यकारी निर्देशक ओलीले बताउनुभयो । हाल भाग्लेमा दुई सय ५० किलोवाट बिद्युत् उत्पादन भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update