रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । शिल्डमा सहभागी १० वटा विद्यालयलाई उछिन्दै वडा नम्बर २ को त्रिवेणी मावि सिम्रुतुले शिल्ड उचालेको छ । वडा नम्बर ६ को दवाङ खेल मैदानमा ६ स्वर्ण पदक सहित कुल १७ पदकका साथ त्रिवेणी माविले शिल्ड उचालेको हो । उसले रजत पाँच र कास्य ६ पदक हासिल गर्यो । प्रथम भएका स्वर्ण, द्धितिय भएमा रजत र तेस्रो भएमा कास्य पदक प्रदान गरिन्छ । वडा नम्बर १० को बालकल्याण मावि टोट्के दोस्रो भएको छ ।
बालकल्याणले चार स्वर्ण र चार रजत गरी कुल आठ पदक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । कुल ११ पदक जिते पनि स्वर्ण पदकमा पछि रहेको वडा नम्बर ४ को अन्धनाशक मावि खुम्चेरी तेस्रो बन्यो । उसले दुई स्वर्ण, चार रजत र पाँच कास्य पदक जित्न सफल भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरेश पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्डमा छात्र, छात्रा भलिबल, छात्र, छात्रा दौड, रिले दौड सञ्चालन गरिएको थियो । त्यसै गरी छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो खेल पनि सञ्चालन भएको शाखा प्रमुख मगरले बताउनुभयो । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले पुस ८ गते देखि आयोजना गरेको शिल्ड बिहीबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख र गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै वडा नम्बर १ का अध्यक्ष सुन्दर ओली, वडा नम्बर ६ का अध्यक्ष भद्रबहादुर सिर्पाली, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का, महासङ्घका पालिका अध्यक्ष डिल्लीबहादुर मल्ल लगायतको पनि आतिथ्यता रहेको थियो ।