रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा साबिक रुकुम जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालिको आयोजनामा रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा अवस्थित बराहटाकुरा कवर्ड हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा रुकुम पश्चिम र पूर्वका ३७ जोडीले भाग लिएको प्रालिका सह प्रबन्धक विशाल विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन हुने छ । प्रतियोगिताको विजेता जोडीले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेता जोडीले नगद १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थान प्राप्त गर्ने दुई जोडीले नगद पाँच पाँच हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विष्टले जानकारी दिनुभयो ।

सह प्रबन्धक विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्का, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य डम्बर थापा, ब्याडमिन्टन सङ्घका कर्णाली प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष अनिल बुढा, अम्पायर कवीन्द्र पुन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन यामराज डाँगीले गर्नुभएको थियो । प्रतियोगिता भोलीसम्म सञ्चालन हुने बताइएको छ ।




-1759842583.jpg)