Kakhara सबैको खबर सम्पूर्ण खबर

कृष्णबहादुर रोकाय नेपाली काँग्रेस रुकुमको निष्ठावान् र त्यागी नेताको रूपमा चिनिनुहुन्छ । पार्टी भित्र खासै अवसर नपाएको नेताका रूपमा परिचित रोकाय बिहीबार भएको राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनबाट गठबन्धनको उम्मेदवारका रूपमा कर्णाली प्रदेशबाट निर्वाचित हुनुभएको छ । आज हामी उहाँको राजनीतिक जीवनको संक्षिप्त चर्चा गर्दै छौँ । 

रोकाय रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी हुनुहुन्छ । उहाँको राजनीतिक जीवन २०४७ साल देखि सुरु भएको हो । २०४७ वैशाख देखि उहाँले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)बाट राजनीति सुरु गर्नुभएको हो । उहाँ रुकुममा नेविसङ्घको संस्थापक हो । उहाँले २०४७ वैशाखमा आफ्नै अध्यक्षतामा रुकुम पश्चिममा नेविसङ्घ स्थापना गर्नुभयो । त्यसको ६ महिनापछि असोजमा जिल्ला अधिवेशनबाट अध्यक्षमै निर्वाचित हुनुभएका रोकायले २०५० सालसम्म दुई कार्यकाल नेविसङ्घको नेतृत्व गर्नुभयो । 

पार्टी राजनीतिमा भने उहाँ २०५३ सालमा होमिनुभयो । २०५३ सालमा उहाँले पार्टी जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी पाउनुभएको थियो । पार्टी जिल्ला सदस्य बनेको चार वर्षपछि २०५७ सालमा उहाँले जिल्ला पार्टी सचिव बन्ने मौका पाउनुभयो । त्यसपछि लगातार दुई कार्यकाल अर्थात् २०६७ सालसम्म उहाँले नेपाली काँग्रेस रुकुमको सचिवका रूपमा काम गर्नुभयो । साथै उहाँ २०५७ साल देखि नै महासमिति सदस्य समेत बन्नुभयो । उहाँ जिल्ला सभापति भने बन्न पाउनुभएन । पछिल्लो पटक जिल्ला सभापतिको निर्वाचन लडे पनि उहाँ सफल हुन सक्नुभएन तर प्रदेश महामन्त्रीमा उहाँले छलाङ मार्नुभयो । 

रोकायले आफ्नो राजनीतिक जीवनमा प्रहरी हिरासतको महसुस समेत गर्नुभयो । २०६२/०६३ को आन्दोलनका क्रममा उहाँले रुकुममा पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । त्यसै क्रममा जनआन्दोलन निर्णायक तहमा पुगेका बेला उहाँ पक्राउ पर्नुभयो र जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासतमा सात दिन बिताउनुपर्‍यो । 

शान्ति स्थापना पछि २०७० सालको दोस्रो संविधान सभा सदस्य चुनावमा उहाँ रुकुम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवर बन्नुभयो । तर उक्त चुनावमा उहाँ पराजित हुनुभयो । २०७४ सालमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट फेरी उहाँ चुनाव लड्नुभयो । उक्त चुनावमा पनि उहाँ पराजित हुनुभयो । दुवै निर्वाचनमा उहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार सँग पराजित हुनुभएको हो । हाल उहाँ नेपाली काँग्रेस कर्णाली प्रदेशको महामन्त्री समेत हुनुहुन्छ । २०७८ साल मङ्सिर १९ गते निर्वाचन जित्दै उहाँ महामन्त्रीमा निर्वाचित हुनुभएको हो । 

संविधानको रक्षा पहिलो प्राथमिकता 
राष्ट्रिय सभामा निर्वाचित भएपछि रोकायले संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कखरासँग संक्षिप्त कुराकानी गर्दै चारै तिरबाट संविधानमाथि प्रहार भइरहेको उहाँले उहाँले संविधानको रक्षा आफ्नो पहिलो कार्यभार रहेको बताउनुभएको हो । त्यस्तै राजनीतिक स्थायित्व, अधुरा रहेका कानुन निर्माण, जनतासँग प्रत्यक्ष जोडिएका सवाललाई राष्ट्रिय सभामा उठाउने बताउनुभयो । रोकायले सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताउँदै यसको कार्यान्वयन तथा प्रदेशलाई सशक्त र अधिकार सम्पन्न बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । 

आफूले प्रतिनिधित्व गरेको कर्णाली प्रदेशको समृद्धि, यहाँको विकास र जनताको जीवनस्तर बदल्न भूमिका खेल्ने पनि उहाँले कखरासँगको संक्षिप्त कुराकानीमा बताउनुभयो । ‘यो अवसरलाई मेरो जीवनको महत्त्वपूर्ण कडिका रूपमा लिएको छु, केही गरेर देखाउने अवस्थामा आइपुगेको छु, म गठबन्धनबाट निर्वाचित भएको हुँ, सबैको सहकार्य, छलफल र समन्वयबाट जिल्ला देखि प्रदेशसम्मलाई फाइदा पुग्ने गरी काम गर्छु उहाँले भन्नुभयो ।’ 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update