राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले स्थापना दिवसको अवसरमा विभिन्न विधामा योगदान पुर्याएका ९ जना व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखाको छनोट समितिले विभिन्न विधामा योगदान पुर्याउने ९ जनालाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो ।
विभिन्न व्यक्तिले राप्ती साहित्य परिषद्मा अक्षयकोष स्थापना गरेको र सोही अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकमले पुरस्कार तथा सम्मान गर्न लागिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार छनोट भएका व्यक्तिलाई फागुन १२ गते जिल्ला सदरमुकाम खलङ्गामा कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने छ ।
हरेक वर्ष शाखाले समाजमा योगदान पुर्याउने स्रष्टा, लेखक, कलकार तथा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि शाखाले पुरस्कृत तथा सम्मान गर्न लागेको जनाएको छ ।
यस वर्षको रुकुम साहित्यमाला पुरस्कार नेपालगन्ज उपमहानगरपालिका ४ बाँकेका गणेशा कार्की (विष्ट), सुमना-सुमन पुरस्कार मुसिकोट नगरपालिका ५ की हरिकला बुढा र चौरजहारी नगरपालिका १३ का श्रीकृष्ण शर्मा, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार मुसिकोट नगरपालिका १ का गुनामे श्रेष्ठ (नेवार) वंशावलीका लेखक सत्यनारायण श्रेष्ठ तथा लोक गायक प्रसाद खड्का र मुसिकोट नगरपालिका १ कै जलसा खड्कालाई प्रदान गरिने भएको छ ।
त्यस्तै बलबहादुर श्रेष्ठ स्मृति पुरस्कार मुसिकोट नगरपालिका ९ रुकुम पश्चिमकी सीता बुढा मगर, योगमाया लोक साहित्य पुरस्कार मुसिकोट नगरपालिका १ का लोक गायक अरुणकुमार साह र लोक साहित्य सम्मान पुरस्कार बाँफिकोटका गाउँपालिका ३ का कुलबहादुर बोहरालाई प्रदान गरिने शाखा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
परिषद्मा मुसिकोट नगर प्रमुख अक्षयकोष एक लाख ५० हजार रुपैयाँको स्थापना गरिएको छ । त्यस्तै योगमाया लोक साहित्य अक्षयकोष एक लाख १४ हजार, रुकुम साहित्यमाला अक्षयकोष एक लाख ७सात हजार पाँच सय ५५ हजार, बलबहादुर श्रेष्ठ अक्षयकोष एक लाख र सुमना-सुमन अक्षयकोष १५ हजार रुपैयाँको रहेकाे राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्लाहकार गिरिप्रसाद बुढाले जानकारी दिनुभयो ।