नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम मुसिकोट नगर समितिले ६५ वर्षपछि नेपाल सरकारले नेपालमै हुलाक टिकट छाप्ने कार्य सुरु गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्काले एक सूचना जारी गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा नेपाल सरकारलाई नेपालमै हुलाक टिकट छाप्ने कार्य सुरु गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको हो ।
नेपालको व्यवस्था परिवर्तन एवं विभिन्न राजनैतिक आन्दोलनका धरोहरहरू सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल (अभागी) र ऐतिहासिक व्यक्तित्व साहाना प्रधान सहित प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएकोमा धन्यवाद ज्ञापन गरिएको छ । त्यस्तै सहिद, राष्ट्रिय ऐतिहासिक व्यक्तित्वहरू र प्राकृतिक सांस्कृतिक सम्पदाको सम्मान गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी सरकारले गरेको निर्णय प्रति नगर अध्यक्ष खड्काले आभार व्यक्त गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी सहिद कामी बुढाको रुकुम पश्चिम मुसिकोट नगरपालिका १० खर्सपानीमा जन्म भएको थियो । उहाँको फोटो हुलाक टिकटमा छापिएपछि राष्ट्रिय स्तरमा परिचित भई सम्मानित भएकोले यसमा हामी रुकुमेली साथै मुसिकोटवासीहरू गर्व गर्दछौँ धन्यवाद पत्रमा भनिएको छ ।
यो सम्मानको ऐतिहासिक कदममा अग्रणी भूमिका निर्वाह गरी कार्यान्वयन गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सँगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, जनक शिक्षा सामाग्री लिमिटेड लगायत पहलकर्ता सबैलाई नेकपा माओवादी केन्द्र मुसिकोटले धन्यवाद ज्ञापन गरेको छ ।





-1759842583.jpg)