कार्यालयमा विभिन्न सेवाग्राहीहरू आउने जाने क्रम जारी हुन्छ । ४२ वर्ष शिक्षण गरेर अवकाश लिन आइपुगेका शिक्षक नेत्रबहादुर बुढा पनि सेवाग्राही बन्नुभयो । अभावले ग्रसित त्यो विगतमा कसरी पढ्न सम्भव भयो ? उहाँमा पढ्ने सोच कसरी जाग्यो होला ? त्यति बेला नेत्र सर जस्ता व्यक्तित्वले गुरुको भूमिका नखेलेको भए हाम्रो अवस्था पनि के हुन्थ्यो होला ? यस्तै प्रश्न मनमा खेल्न थालेपछि उहाँको विद्यालय शिक्षा र शिक्षक बन्ने पृष्ठभूमिका बारेमा साक्षात्कार भयो । नेत्र सरले चौरजहारी नगरपालिका १० स्थित आधारभूत विद्याललय मानाकोटबाट भर्खर अनिवार्य अवकाश लिनुभयो । ४२ मध्ये ३९ वर्ष ७ दिन त उहाँले स्थायी सेवा गर्नुभयो । १८ वर्षको उमेरमा सरस्वती माध्यमिक विद्यालय अर्माडाँडाबाट शिक्षण पेसामा प्रवेश गर्नुभएको थियो । त्यसपछि शीतल मा.वि.चौरजहारी, आधारभूत विद्यालय विजयश्वरी, जनकल्याण मा.वि. खागल, आधारभूत विद्यालय पेदीखोला हुँदै आधारभूत विद्यालय मानाकोटमा गएर पूर्ण बिराम लागेको छ ।
दुर्गम ठाउँ पढ्ने र पढाउने चेत खासै थिएन । हटारू बन्न भ्याइ नभ्याइ हुन्थ्यो । नुन बोकेर ल्याउन नेपालगञ्ज पुग्नु पर्ने वाध्यता थियो । भैंसीको घिउँ बनाउने अनि बेच्ने र नुन कपडाको जोहो हुन्थ्यो । सबैभन्दा बढी दुध दिने भैसी, कुदने बल्ल र बलवान मान्छेको खोजी हुन्थ्यो । गाउँमा चर्चा चल्थ्यो ।
शिक्षाको उज्यालो घाम विकट वस्तीसम्म पुग्न सकेको थिएन । गरिबका छोराछोरीले पढ्न सक्दैनन् । सामान्य मान्छेबाट पढ्ने कुरा सम्भव छैन । यस्तै गलत सोच थियो । छोरीलाई पढाउने भन्ने त झन टाढाको कुरा थियो । छोरा पनि छिटो हलक्क बढोस् र कालिपारे बनोस् भन्ने शुभेच्छा हुन्थ्यो । धेरै बल भएर भारी बोक्न सक्यो भने महान छोराको उपमा मिल्थ्यो । अनि बाबुलाई छोरो जन्माउनुमा गर्वको अनुभूति हुन्थ्यो ।
सबै साथीहरू कालिपारे बन्दै गर्दा कसरी किताबको झोला बोकेर स्कुल जाने रहर जाग्यो होला ? न त घरपरिवारको उत्प्रेरणा न त छिमेकीको नै ! त्यो समय र वातावरणमा कुनै शैक्षिक माहोल थिएन । अशिक्षा, गरिवी, भोक, रोग र शोकले नराम्रोसँग जाँगेको थियो । एउटा बालकमा पढ्ने हुटहुटी कसरी जागृत भयो होला ? सबै साथीसङ्गतिहरू कालिपारे बने । उनीहरू स्याउका पेटीहरूमा ताकत जाँज्दै गर्दा नेत्र सरले भने आफ्नो वौद्धिकतालाई जाँच्नुभयो । धेरैले खिच्ली उडाए । यो गरिबको छोराले कसरी पढ्न सक्ला ए ! ओठका फिस्का मारे । कुरा काटे । पढ्ने त धनीका छोराले हो भन्ने भास्य निर्माण गरे । तर नेत्र सर विचलित हुनु भएन । त्यसलाई झन प्रेरणाको रूपमा लिनुभयो । जसरी म एसएलसी उत्तीर्ण गरेर देखाउँछु भन्ने अठोट गर्नुभयो । हिम्मत र साहस थप जागृत भयो ।
अहिले जस्तो विद्यार्थीको कुनै तोकिएको ड्रेस थिएन । प्रयाप्त कपडा चाहेर पनि किन्न सम्भव थिएन । कपडा पाउने ठाउँ नेपालगञ्ज थियो । नेपालगञ्ज जान हाट कुर्नुपर्थ्यो । खाली खुट्टा हिड्नुपर्थ्यो । पैतालमा ठेला बसेका र चिरा परेका हुन्थे । हिड्दा ठेस लागेर ह्वालह्वालती रगत बगेको हुन्थ्यो । कतिपयले काठका चप्पल लगाउँने चेष्टा गर्थे । कतिपयको भिमलको लोता हालेर मालटाटाको । खाली खुट्टा, फाटेको कमीज र कट्टुका साथ हिड्नुपर्ने बाध्यता थियो ।
खोलागाउँमा प्रारम्भिक कक्षाको शिक्षापछि नेत्र सर शीतल मा वि चौरजहारीतर्फ प्रस्थान गर्नुभयो । दुर्लव औपचारिक शिक्षा नि:शुल्क थिएन । शुल्क तिर्नुपर्ने बाध्यता थियो । कक्षाको मासिक शुल्क २० रूपैयाँ थियो । त्यति धेरै पैसा तिर्नसक्ने आर्थिक अवस्था थिएन । पढाइ छोड्ने अवस्था सृजना भएको थियो । खाने मुखलाई जुँङ्गाले छेक्दैन । जहाँ इच्छा त्यहाँ उपाय । कोही नहुनेको दैव हुन्छ । यस्तै यस्तै उखानको चरितार्थ उहाँको जीवनमा लागू भयो ।
प्रधानाध्यापक डिल्लीराज खनालको नजरमा नेत्र सर पर्नुभयो । पढाइप्रतिको लगनबाट उहाँ निकै प्रभावित हुनुभयो । यो केटोले भविश्यमा राम्रो गर्नेमा ठम्याइ भयो । राम्रो प्रतीभाको जगेर्ना र संरक्षणका लागि गुरुमा कुनै स्वार्थ हुँदैन । असल गुरुमा एकमात्र स्वार्थ हुन्छ आफ्नो विद्यार्थीको भविश्य सुन्दर र सफल बनाउने । राम्रो प्रतिभा देखेपछि हेडसरले २० रूपैयाँ लाग्ने मासिक शुल्क १.६० रूपैयाँ लाग्ने गरी छुट गरिदिनुभयो । त्यसपछि धरापमा परेको पढाइले सुन्दर गणतव्यको यात्रा तय गर्यो ।
साथीहरूको लहलहैमा लागेको भए सायद नेत्र सर बेलैमा मुग्लानी बन्ने पक्का थियो । दृढ इच्छा शक्ति र अठोटले नै सुन्दर गणतव्यमा पुर्याउँछ । बहकिने मन र लहलहैमा बुर्कुसी मार्ने प्रवृत्ति सफल जीवनका लागि हानिकारक हुन्छ । म यस कारण कुनै समयमा सबैको ध्यान खिच्ने छु भन्ने अठोट हुन जरुरी छ । दुख, कष्ट, पीडा र सङ्घर्ष देख्न, सुन्न र अनुभूति गर्न नचाहेहरू कहिल्यै पनि प्रगतिका भागिदार बन्न सक्दैनन् ।
शिक्षाको उज्यालो घाम पुग्न चौरजहारी र आसपासका क्षेत्रमा पुग्न सकेको थिएन । ४० वर्षअघि ती गाउँ र बस्तीहरूमा नेत्र सर किरण बनेर उदाउनुभयो । शिक्षाको ज्योति छर्नुभयो । पढ्ने माहोल तताउनुभयो । शैक्षिक जागरणको उभार ल्याउन योगदान गर्नुभयो । हजारौंको श्रद्धेय गुरु हुनुभयो । हटारु होइन पढाउनुपर्ने सोचको उहाँ विजारोपणकर्ता हो । समाज रूपान्तरणको एक अभियन्ता हो ।
बिजुली बत्ति कुन चराको नाम हो थाहा थिएन । न त मट्टितेल नै थियो । ग्रामीण जीवन निकै कष्ठकर थियो । यथार्थमा अभावमा बाँचिरहेको थियो । न त नजिक विद्यालय न त रातिमा पढ्नका लागि सहज विजुली बत्तीको व्यवस्था । न त अहिलेको जस्तो सोलार ! न त अन्य कुनै विकल्प नै । विकल्पका नाममा थियो त केवल सल्लाको दियालो । झुरझुर गर्दै मन्द उज्यालोको आभास हुने दियालो निमेषभरमै हराउथ्यो । पुस्तक सहज र पर्याप्त थिएन । थप सन्दर्भ सामग्रीहरू त देख्ने कुरै भएन । गरिवीसँग परिस्थिले सृजना गरेको विवशता पृथक थियो ।
साथी अनि छिमेकीको बहकाउमा लागेको भए सायद नेत्र सर 'सर' हुन सक्नु हुने थिएन । कालापहाडको कुनै गाउँमा भारी बोक्दै हुनुहुन्थ्यो होला । हजारौं विद्यार्थीको गुरु बन्न सक्नु हुने थिएन । त्यसैले एक्लै भए पनि आत्तिन हुँदैन । अभाव र समस्यासँग जुधेर अगाडि बढ्नेमा मात्रै जीवनले कोल्टे फेर्नसक्छ । हरेक कुरामा छिटो प्रतिफल खोज्ने र असम्भव देख्ने प्रवृत्तिले जीन्दगीको बाटो तहसनहस बनाउन बेर लाग्दैन । पृथक अनुकरणीय जीवनका लागि नेत्र सरले धैर्यता, आशा, भरोसा र विश्वास टुटाउनु भएन । त्यसैको फलस्वरूप प्रेरक गुरु बन्नुभयो । शैक्षिक अभियन्ता बनेर उदाउनुभयो ।
जीवन समृद्ध बनाउने हुटहुटी सबैमा जाग्न जरुरी छ । असम्भव देख्न थालियो भने नयाँ केही पनि हुँदैन । सुन्दर कमलको फूल पनि हिलोमा फुल्छ । अभाव र तिरस्कारको बिचबाट फुल्ने र फल्ने प्रयासले नै जीवनको नयाँ गोरेटो तय गर्छ । राम्रो गर्ने चेष्टा, सकरात्मक सोच र दृढ इच्छाशक्ति सफलताका सुत्र हुन् । गाउँ, बस्ती र क्षेत्रकै शैक्षिक अगुवा, हजारौं विद्यार्थीका गुरु नेत्र सरको सेवा निवृत्त जीवन सुखद बनोस् । बाँकी जीवन पनि शैक्षिक विकास र उन्नयमा रचनात्मक रूपले समर्पित बनोस् हार्दिक शुभकामना !
(ढकाल चौरजहारी नगरपालिका रुकुम (पश्चिम) का नि. प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ)