रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेका थापा भाइबन्धुले यस वर्षको तिहारमा खेलेको देउसी भैलोबाट सङ्कलित पैसा मन्दिर संरक्षणमा खर्च गरिने भएको छ । देउसी भैलोबाट उक्त टिमले १ लाख ७२ हजार ६ सय ६५ रुपैयाँ सङ्कलन गरेको छ । उक्त रकम अनावश्यक खर्च नगरी सिद्ध मन्दिर र थापा कुलेन मन्दिरलाई थप संरक्षणका लागि खर्च गरिने भैलो टिमका अगुवा मध्यका एक डम्बर थापाले जानकारी दिनुभयो ।
देउसी भैलोबाट दक्षिणा स्वरूप सङ्कलन भएको रकम थापा भाइबन्धुको थापा कुलेन मन्दिर र सबैको साझा सिद्ध मन्दिर स्थानलाई घेरबार गरी संरक्षण गर्ने निर्णय भएको उहाँले बताउनुभयो । देउसी भैलोबाट सङ्कलन भएको रकम वनभोज वा अन्य फजुल रूपमा खर्च हुने अवस्थालाई रोक्न सामाजिक काममा लगाउने निर्णय भएको उहाँको भनाई छ ।
देउसी भैलोबाट सङ्कलन भएको रकमबाट कुल देउताको मन्दिर संरक्षण हुने भएपछि पुजारी जयराम थापाले खुसी व्यक्त गर्नुभयो । थापा भाइ बन्धु टोलीले तिहारका तीन दिन सल्लेका ७५ घरमा देउसी भैलो खेलेर १ लाख ७२ हजार ६ सय ६५ रुपैयाँ सङ्कलन गरेको हो । यो सबै रकम दुई मन्दिरको संरक्षणमा खर्च हुने बताइएको छ ।





-1759842583.jpg)