 
                                                            त्रिवेणि गाउँपालिका–२, विमैचाका खुमवहादुर बुढाथोकीको परिवारलाई अहिले सजिलो भएको छ । सार्वजनिक धाराबाट खानेपानीको जोहो गर्ने गरेको बुढाथोकीको परीवारले अहिले घरको आँगनमै खानेपानीको सुविधा पाएको छ । गाउँको धाराबाट पानी ल्याउँदा खर्च हुने समय अहिले बुढाथोकी परिवारले अन्य काममा लगाउने गरेको छ । बुढाथोकी मात्र होईन क्षेत्र क्षेत्रका सबै घरमा घर घरै धारा पुगेपछि सजिलो हुँदै गएको छ । आफ्ना लागि तथा पशु चौपायका लागि धेरै पानीको आवश्यकता पर्ने गरेको र उक्त पानीको जोहो गर्न धेरै समय लाग्ने गरेकामा अहिले भने आँगनमै धारा पुगेपछि पिठ्युमा गाग्रि बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता अन्त्य भएको बुढाथोकीले बताउनुभयो । ‘वि.सं. २०३६ सालमा विस्तार गरिएको पाईपलाईनबाट खानेपानीको गर्जो टारिरहेका थियौं,’ उहाँले भन्नुभयो, ‘१५–२० घरले साझा धारा प्रयोग गथ्र्यौ, धेरैले एउटै धारा प्रयोग गर्दा पालो कुर्नुपर्ने थियो, पाइपलाईन जिर्ण बन्दा बेलाबेलामा पानी अवरुद्ध पनि हुन्थ्यो तर अव भने त्यो समस्या हल भएको छ ।’
तीन टोलका ७१ घरमा धारा 
रेडक्रस, गाउँपालिका र स्थानीयको साझेदारीमा घरघरमा खानेपानीको धारा पुर्याईएको छ । त्रिबेणि–२, विमैचा र स्यानाखर्क तथा मुसीकोट नगरपालिका ११ घाटीगौराका ७१ घरमा खानेपानी धारा पुगेका छन् । मुलपानी खानेपानी आयोजना मार्फत विमैचा र स्यानाखर्कका ६३ तथा घाटीगैराका ८ गरी ७१ घरमा धारा पुर्याईएको हो । यस आयोजनाका लागि त्रिबेणि गाउँपालिकाको १० लाख, नेपाल रेडक्रस सोसाईटीको २४ लाख ४१ हजार र जनश्रमदान २० लाख गरी कुल ५४ लाख २६ हजार खर्च भएको छ । ‘एक घर, एक धारा’ को अवधारणा अनुसार प्रत्यक घरमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष ठानबहादुर बुढाथोकीले जानकारी दिनुभयो । आयोजना १ वर्षमा निर्माण भएको हो । घर घरमा पानी पुर्याउनका लागि ३ ओटा ७ हजार लिटर र एउटा २ हजार लिटर क्षमताको ट्याङी निर्माण गरिएको छ ।
गाउँपालिकाका सबै घरमा ‘एक घर एक धारा’: अध्यक्ष घर्ती 
गाउँपालिकाभरका सबै घरमा खानेपानीको धारा पुर्याउने लक्षका साथ काम भैरहेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो । चुनावि नारा अनुसार ‘एक घर एक धारा’ को अवधारणा लिएको उहाँको भनाई छ । जसअनुसार आफ्नो कार्यकालमा यो अवधारणालाई पुरा गर्ने लक्ष राखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार यो बाहेक वडा नं. १ मा दाङचुङ–बल्लेजुरा खानेपानी आयोजनाको पनि काम सम्पन्न भएको छ र केहि दिनमा उद्घाटनको तयारी भैरहेको छ । त्यस्तै वडा नं. ७ मा थारमारे–राजकोट लिफ्ट खानेपानी आयोजना, वडा नं. ८ मा कालाखोला–भेरीपोखरा लिफ्ट खानेपानी आयोजना, वडा नं. १० मा सिम्तारी–बन्चरे लिफ्ट खानेपानी आयोना र वडा नं. ९ मा भुस्कुरा खानेपानी आयोजनाको काम चलिरहेको छ । वडा नं. ९ मा घोर्लेकोट–कालाखोला लिफ्ट खानेपानी आयोजनाको काम गत वर्ष नै सम्पन्न भई खानेपानी वितरण भइरहेको अध्यक्ष घर्तिले जानकारी दिनुभयो ।
छिङका डेढ सय परिवारको आँगनमै खानेपानी 
मुसीकोट नगरपालिका–१, छिङकी रुपा केसीको परिवारलाई खानेपानीको कुनै चिन्ता छैन् । धारा सुक्ला वा पालो नपाईला भन्ने चिन्ताले पिरोल्न छाडिसकेको छ । घरको आँगनमा २४ सैं घण्टा कलकल पानी बग्छ । कपडा धुन, भाडा धुन, नुहाउन होस या गाई, भैंसी तथा भेडा बाख्रालाई पानी खुवाउन वा आफुलाई खान पानीको कुनै अभाव छैन् । सरसफाईमा पनि सहजता आएको छ ।
केसीको परिवार मात्र होई उनिजस्तै अरु डेढसय घरपरिवार पनि खानेपानीको सहज पहुचमा छन् । छिङका तीन टोलका १ सय ४२ घरपरिवारलाई खानेपानीको कुनै समस्या छैन् । पहिलो पटक घर घरमा धारा पुगेपछि स्थानीय हर्षित छन् । स्थानीय कैनापानी मुहानबाट गाउँमा पानी पुर्याएर घर घरमा वितरण गरिएको छ । यस आयोजनामा कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट आएको ९० लाख बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा आएको बजेटले छिङ खानेपानी आयोजनाको काम यो वर्ष सकिएपछि घर घरमा खानेपानी छाडिएको हो ।
यस आयोजनाबाट छिङका मुलखोला, खालवाङ र बजार लाईनका घरहरुमा धारा जडान गरिएको छ । खानेपानीको मुहानबाट एक सय देखि नौं सय मिटरको दुरीसम्मका घर परिवार लाभान्वित भएको आयोजना निर्माण उपभोक्ता समितिले जनाएको छ । मन्त्रालयबाट आएको बजेट जिल्लामा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय मार्फत कार्यान्वयन भएको हो ।


 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    