Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम कप भलिबलको दोस्रो संस्करण सुरु भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजना र हाम्रो सरोकार रुकुम पश्चिमको सह आयोजनामा रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरा टुँडिखेलमा प्रतियोगिता सुरु भएको हो । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले एक औपचारिक समारोहका बिच प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै केसीले रुकुम कप भलिबल रुकुम पश्चिमको ब्रान्डका रूपमा विकास हुँदै गएको बताउनुभयो । रुकुममा यो खालको प्रतियोगिता आयोजना गर्ने कुरा चानचुने नभएको उहाँको भनाई थियो ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले देशमै रुकुम पश्चिमलाई चिनाउने गरी प्रतियोगिता आयोजना गर्नु आफैमा ऐतिहासिक रहेको भन्दै प्रतियोगिता सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले मुसिकोट नगरपालिका खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो । नगरभरमा तीन वटा खेल मैदान निर्माणाधीन अवस्थामा रहेको बताउँदै उक्त मैदान निर्माणमा भएमा खेल गतिविधि सञ्चालन गर्न थप सहज हुने बताउनुभयो ।

DSC08481-1714146129.JPG
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, २ का अध्यक्ष दिनेश खड्का, ३ का अध्यक्ष दशरथ केसी, ४ का अध्यक्ष निर्मल पुन, ६ का अध्यक्ष भानु मल्ल, ८ का अध्यक्ष जयबहादुर थापा, १३ का अध्यक्ष खलबहादुर खड्का, नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओली, माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्का, नेपाल भलिबल सङ्घका आजीवन सदस्य तथा किंग्स क्लब काठमाडौँका अध्यक्ष अञ्चल शाही लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । 

प्रतियोगितामा आयोजक रुकुम पश्चिम सहित विभिन्न जिल्लाका ६ वटा समूहले प्रतिस्पर्धा गर्ने छन् । रुकुम पश्चिम, सल्यान, नेपाली सेनाको चण्डी दल गण, हाम्रो सरोकार, बाँफिकोट गाउँपालिका ४ र बाँफिकोट गाउँपालिका गरी ६ टिमले प्रतिस्पर्धा गर्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी सबै टिमले एक अर्कासँग खेलेपछि टपमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

DSC08579-1714146119.JPG
प्रतियोगितामा राष्ट्रिय भलिबल टिमका क्याप्टेन मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, दुर्गा महतोले नेपाली सेनाकाे चण्डीदल गण रुकुम पश्चिमबाट खेल्दै छन भने रबिन चन्द, पहल गहतराज, लोकेन्द्र गिरी, सफल विकले आयाेजक रुकुम पश्चिमबाट खेल्दै छन् । यसका साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडीले अन्य विभिन्न टिमबाट खेल्न लागेको अध्यक्ष बुढाले बताउनुभयो । 

यो प्रतियोगिता पुरस्कार राशिका हिसाबले मात्र सर्वाधिक नभई खेलाडी सहभागिताका हिसाबले पनि जिल्लाको ऐतिहासिक प्रतियोगिता भएको अध्यक्ष बुढा बताउनुहुन्छ । प्रतियोगिता लिगकम नकआउट सिस्टममा खेलाइने छ ।  

DSC08463-1714146134.JPG
यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ । समूह चरणका खेलमा १ सय र सेमिफाइनल तथा फाइनलमा २ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । 

DSC08573-1714146125.JPG
DSC08578-1714146120.JPG

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update