Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को मठ देखि सल्ले जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई सय ११ मिटर लम्बाई रहेको पुल निर्माण कार्यको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ । 

यो पुल निर्माणको जिम्मा हिमशिखर हिरा कन्स्ट्रक्सन प्रालिले लिएको छ । ७४ लाखमा यो पुल निर्माण हुन लागेको निर्माण कम्पनीका सञ्चालक नरहरि खड्काले जानकारी दिनुभयो । पुल निर्माणको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १० दिन भित्रमा सकिने उहाँले बताउनुभयो । 

अब वरिपरि जाली राख्ने र सपोर्टर लट्ठा तान्ने बाहेक अन्य सबै काम सकिएको उहाँको भनाई छ । यो पुल निर्धारित मिति भन्दा निकै छिटो सम्पन्न हुन लागेको हो । १८ महिनामा निर्माण सक्ने गरी २०८० को फागुन २८ गते सम्झौता भएको खड्काले बताउनुभयो । उक्त सम्झौता अनुसार पुल निर्माणको समय २०८२ को भाद्रसम्म छ । 

तर पुल निर्माण सम्झौता भएको चार महिनामै सम्पन्न हुन लागेको खड्काले बताउनुभयो । आफूले लिएका ठेक्का मध्ये हालसम्म कुनै पनि ठेक्कामा म्याद थप नगरेको र यो ठेक्का पनि निर्धारित समयभन्दा निकै छिटो सकिन लागेको उहाँको भनाई छ । पुल डोलिडार अन्तर्गत स्थानीय पूर्वाधार आयोजना सुर्खेत मार्फत निर्माण हुन लागेको हो । 

यसअघि बराहटाकुराबाट सल्ले जोड्ने गरी २ सय ३८ मिटर लामो पुल निर्माण भएको थियो । अब नजिकै दुई वटा झोलुङ्गे पुल भएका छन् । यसले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै आवतजावतमा थप सहजता आउने विश्वास गरिएको छ । अब सल्ले–खलङ्गा आउजाउ गर्न थप सहज हुने भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update