 
                                                            रुकुम पश्चिमका बमबहादुर विक (बमकाजी शिर्पाली)ले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माडाँडाका शिर्पालीले जेठ ६ गते बिहान ५ः५७ मा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँ निजामती कर्मचारी हुनुहुन्छ । शिर्पाली हाल काभ्रेको खानीखोला गाउँपालिकामा कार्यरत हुनुहुन्छ ।
शिर्पालीले केही समय अघि मात्र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्नुभएको थियो । यो हिमाल आरोहण गर्ने उहाँ पहिलो नेपाली निजामती कर्मचारी समेत हुनुहुन्छ । त्यस्तै उहाँले अन्य विभिन्न हिमालको आरोहण गरिसक्नुभएको छ ।
‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यका साथ आफूले सगरमाथाको आरोहण गरेको उहाँले बताउनुभयो । ‘सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा मैले प्रतिनिधित्व गर्दै सगरमाथाको आरोहण गरेको छु, उहाँले भन्नुभयो–संविधानले नै जातीय रूपमा छुवाछुतलाई जघन्य अपराधको रूपमा स्वीकार गरेको परिप्रेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने यो राष्ट्रव्यापी सन्देश हो ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा गर्ने कठिन पूर्ण प्रयासले सार्थकता पाएकोमा आफै दङ्ग भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । साथै उहाँले आफ्नो सगरमाथा आरोहणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
कोरोना नआएको भए उहाँले पहिले नै सगरमाथा आरोहण गरिसक्नुहुन्थ्यो । सन् २०१९ कै सिजनमा सगरमाथा आरोहण गर्ने सबै तयारी पुरा भइसकेको अवस्थामा कोरोना भाइरसका कारण आरोहण बन्द गरिएपछि उहाँको त्यति बेला सगरमाथाको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको थिएन ।
हिमाल आरोहणको भोग जगाउने त्यो १० दिनको ट्रेकिङ 
शिर्पालीले यसअघि मनास्लु हिमाल र लोवुचे पिकको सफल आरोहण गरिसक्नुभएको छ । २०७६ को भदौ ९ गते मनास्लुको आरोहण गरेका शिर्पालीले २०७८ मा लोवुचे पिकमा पुग्नुभएको थियो । शिर्पालीले आफूमा हिमाल आरोहणको भोग सन् २०१८ देखि जागेको बताउनुभयो । १० दिनको अन्नपूर्ण हिमशृङ्खलाको बेस क्याम्पसम्मको ट्रेकिङले आफूभित्र हिमाल आरोहणको भोग जगाएको उहाँले सुनाउनुभयो । अन्नपूर्ण बेस क्याम्पबाट फर्किएपछि आफूभित्र हिमालप्रतिको माया एकदमै बढेको र आरोहणको भोक जागेको उहाँ बताउनुहुन्छ ।
त्यसपछि आफूले आरोहण सुरु गरेको र अहिले आएर विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि आरोहणलाई जारी राख्ने योजना रहेको बताउनुभयो ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    