Kakhara सबैको खबर सम्पूर्ण खबर
जनविकास माविमा अङ्ग्रेजी माध्यममा पढाई
जनविकास मावि ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा रहेको जनविकास माविले अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरेको छ । शैक्षिक सुधारका लागि विद्यालयले यो शैक्षिक सत्रबाट प्ले ग्रुपबाट कक्षा २ सम्म अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेको हो । नेपाली बाहेक अन्य सबै विषय अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको विद्यालयले जनाएको छ । आवश्यक तयारी पुरा गरेर यो शैक्षिक सत्र देखि कक्षा दुईसम्म अङ्ग्रेजी माध्यमबाट पढाई सुरु भएको विद्यालयका प्रधानाध्यापक टिकाराम केसीले जानकारी दिनुभयो ।

विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठनका लागि छुट्टै ब्लक छुट्टाएको छ । उक्त ब्लकको पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको छ । ब्लक उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयको सुधार अहिलेको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयको सुधार भएमा मात्र शैक्षिक गुणस्तर कायम हुने र यसले देश विकासमा महत्त्वपूर्ण टेवा पुग्ने भन्दै जन विकास माविले थालेको अभियानको प्रशंसा गर्नुभयो । 

DSC09037-1716549197.JPG
अंङग्रेजी ब्लककाे उदघाटन गर्दै पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा 'प्रभाकर' ।

विद्यालयले दुई वर्ष देखि अङ्ग्रेजी माध्यमको पढाइका लागि तयारी गरेको थियो । ‘हामीले अङ्ग्रेजी माध्यमबाट पठन पाठनका लागि विगत दुई वर्ष देखि तयारी गरेका थियौँ, प्रअ केसीले भन्नुभयो–यो शैक्षिक सत्र देखि भने व्यवस्थित रूपमा अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गरेका छौँ ।’ उहाँका अनुसार अङ्ग्रेजी माध्यमको छुट्टै ब्लक छ भने जहाँ अङ्ग्रेजी माध्यमको छुट्टै कार्यालय रहेको छ । त्यस्तै प्ले ग्रुप देखि कक्षा दुईसम्मका पाँच कोटा कक्षा कोठा रहेका छन् ।

अङ्ग्रेजी ब्लकमा बालमैत्री शौचालय सहित बालबालिकाका लागि जम्पिङ सेट, २ वटा पिङ, २ वटा चिप्लेटी, खेलौना लगायतका सामग्रीको व्यवस्था रहेको प्रअ केसीले बताउनुभयो । अङ्ग्रेजी ब्लकका लागि तालिमप्राप्त छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । कक्षा १० सम्मै अङ्ग्रेजी माध्यमबाट पढाउने लक्ष राखिएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर बढाई विद्यार्थी सङ्ख्या बढाउने विद्यालयले लक्ष राखेको छ । अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु भएपछि निजी विद्यालयबाट पाँच जना विद्यार्थी फर्किएको प्रअ केसीले बताउनुभयो ।

DSC09042-1716549194.JPG
विद्यार्थीसंग प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा 'प्रभाकर' लगायत ।

निजी विद्यालयमा जस्तो पढाई सरकारी विद्यालयमै गराउने र विद्यार्थी सङ्ख्या पाँच सय पुर्‍याउने लक्षका साथ काम गरिरहेको उहाँ बताउनुहुन्छ । हाल विद्यालयमा तीन सय १२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको यो अभियानमा अभिभावकको दरो साथ रहेको उहाँले बताउनुभयो । स्थानीयको म बनाउँछु मेरो गाउँ कार्यक्रम अन्तर्गत विद्यालयमा सुधारको काम भइरहेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमराज केसीले आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने ध्येयका साथ अभियान थालिएको र यसै अन्तर्गत विद्यालयको सुधारमा केन्द्रित भएको बताउनुभयो । शिक्षामा सुधार नभएसम्म कुनै पनि विकास अधुरो हुने भएकोले शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय सुधारको अभियानमा जुटेको केसीले बताउनुभयो । हालको शिक्षा प्रणाली नै सही नभएको उहाँको भनाई छ । घाेकन्ते विद्याले देशका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसक्ने भन्दै उहाँले व्यवहारिक शिक्षाको आवश्यकता रहेकोले सोही अनुसार विद्यालयमा पढ्दै पढाउँदै कार्यक्रम समेत सञ्चालनमा रहेको बताउनुभयो ।

DSC09047-1716549194.JPG
विश्व बजारमा बिक्नका लागि अङ्ग्रेजी जान्नु अनिवार्य भएकोले विद्यार्थीको बेस मजबुत बनाउन अङ्ग्रेजी माध्यममा जोड दिएको विव्यस अध्यक्ष केसीको भनाई छ । यो अभियानमा सबै अभिभावकलाई जोडिएको छ । टोल टोलमा पुगेर अभिभावकसँग विद्यालयले छलफल गरेको छ । विद्यालयको पडाइले मात्र नपुग्ने भएकोले घरमा पनि पढाई अनुकूल वातावरण निर्माणका लागि विद्यालयले अभिभावकलाई आग्रह गरेको छ । विद्यालयको समग्र मुहार फेर्ने गरी लागि परेको अध्यक्ष केसीले बताउनुभयो । विद्यालय ६० लाख बढी ऋणमा रहे पनि सहयोग जुटाउँदै, सरकारलाई गुहार्दै सुधारका काम गरिरहेको उहाँ बताउनुहुन्छ ।  

DSC09033-1716549197.JPG
अंङग्रेजी ब्लककाे उदघाटन गर्दै पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा 'प्रभाकर' ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update