Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा असार २ गते भूमे पर्वको सार्वजनिक बिदा 
फाइल फाेटाे ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले असार २ गते मगर समुदायको मुख्य चाड भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । अघिल्ला वर्षहरूमा दुई दिन बिदा दिने गरिए पनि यो वर्ष भने एक दिन मात्र बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको छ । जेठ २५ गते बसेको गाउँ कार्यपालिका बैठकले असार २ गते आइतबार दिन मगर समुदायको मुख्य चाड भूमे पर्व मनाउन गाउँपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आफ्नो रीतिथिति अनुसार भूमे पर्व भव्यताका साथ उल्लासमय वातावरणमा मनाउन गाउँपालिकावासीलाई अनुरोध गरेको छ । साथै गाउँपालिकाले भूमे पर्वको शुभकामना पनि व्यक्त गरेको छ । परापूर्व काल देखि मगर समुदायले मनाउँदै आएको भूमे पर्व पछिल्लो समय अन्य जातजातिको समेत साझा र गौरवको पर्व बनेको उल्लेख गर्दै गाउँपालिकाले सबै गाउँपालिकावासीमा भूमे पर्वको शुभकामना व्यक्त गरेको छ । यो पर्व भूमिको पूजा गर्ने संस्कारसँग जोडिएको छ ।

प्रकृति पूजकका रूपमा रहेका मगर समुदायले हरेक वर्ष यो पर्व हर्षोल्लासका साथ एक महिनासम्म मनाउने गर्दछन् । यो क्रममा भूमिको पूजाआजाका साथै एक महिनासम्म टोल टोलमा जम्मा भएर भूमे नाच नाच्ने गरिन्छ । प्रत्येक वर्षको जेठ मसान्त र असार सङ्क्रान्तिमा प्रकृति पूजक मगर समुदायले भूमिको पूजा गरी आफ्नो मौलिक परम्परा, कला संस्कृति, भेष भूषा, सङ्गीतका साथ नाचगान गरेर धूमधामका साथ मनाउने गर्दछन् । 

यसैबिच भूमे पर्वको अवसरमा गाउँपालिकाले सञ्चालन गर्दै आएको सांस्कृतिक कार्यक्रम भने नहुने भएको छ । भूमे गाउँपालिकाले स्थापनाकाल देखि नै वडा नम्बर २ को खावाङ बगरमा स्थानीय नाचहरूको प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको थियो । तर यो वर्ष भने विविध कारणवश यो कार्यक्रम सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

यसको कारण भने खुलाइएको छैन । भूमे वर्षको अवसरमा हुने यो कार्यक्रममा गाउँपालिकाभरमा रहेका स्थानीय नाचहरूका बिचमा प्रतिस्पर्धा गराउने र उत्कृष्टलाई पुरस्कृत गर्ने गरिएको थियो । कला संस्कृतिमा धनी मगर समुदायमा टोल र बस्ती नै पिच्छे आ आफ्नै कला संस्कृतिहरू रहेका छन् । यो कार्यक्रम यस्तै कला संस्कृतिको सङ्गम स्थल बनेको थियो ।

गाउँपालिकाले कार्यक्रम स्थगित गरेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गाउँपालिकाले कार्यक्रम नगर्ने भएपछि स्थानीय युवाहरू मिलेर महोत्सवको रूपमा कार्यक्रम आयोजना गरेका छन् । 

448227197_3777926565822619_6408984349717996021_n-1718119147.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update