Kakhara सबैको खबर सम्पूर्ण खबर
गर्मी छल्न आठबिसकाेटका विद्यालय आजदेखि बन्द 
आठबिसकाेट नगरपालिकाकाे नेपाल राष्ट्रिय मावि गतसैनामा पालमुनी बसेर पढिरहेका बालबालिका ।

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकामा रहेका विद्यालयहरू आजबाट बन्द भएका छन् । गर्मी बढेपछि विद्यार्थीहरू बिरामी पर्दा नगरपालिकाले आउँदो आइतबारसम्मका लागि विद्यालय बन्द गरेको हो । गर्मीका कारण विद्यार्थीहरू बेहोस हुने जस्ता स्वास्थ्य समस्या बढेपछि नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूमा समस्या देखिन थालेपछि यसबारेमा निर्णय गर्न नगरपालिकाले मङ्गलवार बैठक बोलाएको थियो । उक्त बैठकबाट बर्खे र अन्य बिदाबाट मिलाउने गरी बिदा दिने निर्णय भएको नगर प्रमुख केसीको भनाई छ । लामाे समय देखिकाे खडेरीका कारण गर्मीले सताउन थालेपछि नगरपालिकाका केही विद्यालयले विद्यालय बन्द गर्न सुरु गरिसकेको अवस्थामा नगरपालिकाले विद्यालय बन्दको औपचारिक निर्णय गरेको हो । नगरपालिकाभरमा ६४ वटा सामुदायिक र २ वटा संस्थागत गरेर जम्मा ६६ वटा विद्यालय  रहेका छन्

गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पले विद्यालय भवन भत्काएपछि जस्तापाताले निर्माण गरिएका अस्थायी सिकाई केन्द्रमा पठनपाठन बनाइरहेकोले गर्मीले थप सताएको नगर प्रमुख केसीले बताउनुभयो । 

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update