Kakhara सबैको खबर सम्पूर्ण खबर
नवौँ जिल्ला सभा: कृषि उत्पादन बढाउने, वडामै सर्वसुलभ स्वास्थ्य सेवा दिने मार्गदर्शन तय
जिल्ला सभा ।

रुकुम पश्चिमको नवौँ जिल्ला सभा सम्पन्न भएको छ । आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको सभा हलमा भएको नवौँ जिल्ला सभाले विभिन्न मार्गदर्शनहरू तय गर्नुका साथै पारित समेत गरेको छ । जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला सभाका अध्यक्ष लुम्बिनी गौतमको अध्यक्षतामा भएको सभाले विभिन्न १० बुँदे मार्गदर्शन तय गरेको छ । सबै स्थानीय तहहरूले कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति लिनुका साथै बजारीकरणमा जोड दिने, विभिन्न उद्योग सञ्चालन गर्ने निर्णय पारित भएको छ ।

जिल्लाभित्र आवश्यक पर्ने वन पैदावार तथा कृषिजन्य बोटबिरुवाको हकमा जिल्लामा नपाइने मात्रै जिल्ला बाहिरबाट खरिद गर्ने, शैक्षिक तथा शिक्षण संस्थाको सुदृढीकरण गर्न गुणस्तरीय पूर्वाधार निर्माण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न दरबन्दी मिलान, विद्यालय समायोजन र नक्सांकन लगायतका काम प्रचलित कानुन अनुसार कार्यान्वयन गर्ने निर्णय भएको छ । महिला, बालबालिका, दलित, जनजाति, ज्येष्ठ नागरिक, युवा, विद्यार्थी, अपाङ्ग, अल्पसङ्ख्यक, सहित तथा बेपत्ता परिवारलाई स्थानीय तहका विभिन्न क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउन दिगो विकास र युवा स्वरोजगार सम्बन्धी कार्यक्रमलाई जोड दिई क्षमता विकास, पूर्वाधार निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला सभाले पारित गरेको मार्गदर्शनमा उल्लेख छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि जिल्ला अस्पताललाई स्रोत साधन र जनशक्तिका हिसाबले सम्पन्न गराई पालिका तथा वडाहरूमा नै सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गरी नागरिकलाई स्वस्थ बनाउने, मिडिया क्षेत्रको संस्थागत विकास र क्षमता विकासको लागि नीति कार्यक्रम र बजेटको व्यवस्था गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थालाई आवश्यकताका आधारमा छनोट गरी काममा लगाउने नीति समेत तय गरिएको छ ।

Lumbini-Gautam-1719050678.jpeg
जिल्ला सभामा मार्गदर्शन र निर्णय प्रस्तुत गर्दै जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला सभाका अध्यक्ष लुम्बिनी गाैतम ।


पर्यटन, लोक कला, साहित्य, सीप क्षमता र संस्कृतिको जगेर्ना गर्न बजेटको व्यवस्थापन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, वन संरक्षण तथा विपत् व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गर्ने, सङ्घ र प्रदेश कार्यालयहरूले विकास निर्माणमा र स्थानीय तहहरूले सेवा प्रवाह तथा जनचेतनामूलक कार्यक्रममा जोड दिने कार्यक्रम मार्गदर्शनमा समेटिएको जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सभाका सदस्यका रूपमा रहेका स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरूको सल्लाह सुझावका आधारमा केही कार्यक्रमहरू मार्गदर्शनमा थप गरेर पारित गरिएको छ । मार्गदर्शन तयार पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update