Kakhara सबैको खबर सम्पूर्ण खबर
कानुन निर्माण मात्र होइन कार्यान्वयन गरौँ: प्रदेश सांसद खड्का 
जिल्ला सभालाई सम्बाेधन गर्दै प्रदेश सांसद कल्याणी खड्का ।

कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले कानुन निर्माण मात्र ठुलो कुरा नभएको बताउनुभएको छ । आज रुकुम पश्चिमको नवौँ जिल्ला सभालाई सम्बोधन गर्दै सांसद खड्काले कानुन निर्माण मात्र ठुलो नभएको भन्दै बनेका कानुनको कार्यान्वयनमा जोड दिनुभयो । ‘कुनै पनि काम गर्न कानुन त नभई नहुने नै भयो तर नीति, नियम, कानुन बन्ने मात्र ठुलो कुरा होइन, उहाँले भन्नुभयो–सबैभन्दा ठुलो कुरा कार्यान्वयन हो ।’

स्थानीय तहहरूमा अझै पनि आवश्यक सबै कानुनहरू नबनिसकेको प्रसङ्ग उल्लेख गर्दै खड्काले आवश्यक कानुन निर्माण र बनेका कानुनको कार्यान्वयनमा सरोकारवाला सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिले योजनाहरूको मात्र नभई स्थानीय तहमा कानुन बने नबनेको र बनेका कानुनको कार्यान्वयनको अवस्थाका बारेमा पनि अनुगमन गर्न जरुरी रहेको बताउनुभयो । जिल्ला सभाले यस तर्फ पनि ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

साथै उहाँले योजना तर्जुमा गर्दा प्रदेश र सङ्घीय सांसदहरूसँग पर्याप्त छलफल हुन नसकेकोले योजनामा दोहोरोपना आउने समस्या रहेको उल्लेख गर्दै यस तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । साथै उहाँले तीनै तहका सरकार सफल हुने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई उहाँले सुझाव समेत दिनुभएको थियो । त्यस्तै समाजमा व्याप्त सबै खाले विकृतिको अन्त्य हुने गरी सरकारले काम गर्नुपर्नेमा उहाँको जोड थियो । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update