Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटको नीति कार्यक्रम: भूकम्प पछिको पुनर्निर्माणलाई प्राथमिकता 
१६ औँ नगर सभा ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले गत कार्तिक १७ गतेको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम ल्याएको छ । नगर प्रमुख रवि केसीले सोमबारको १६ औँ नगर सभामा भूकम्प पछिको पुनर्निर्माणलाई प्राथमिकता राखेर नीति कार्यक्रम पेस गर्नुभएको हो । 

नीति कार्यक्रममा नगरपालिकामा भूकम्प प्रतिरोधी आवास एवं संरचनाहरू निर्माण तथा पुनर्निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ । यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न दातृ निकायहरूको समेत सहयोग लिइने नीति कार्यक्रममा उल्लेख छ । 

साथै भूकम्प पछिको पुनर्निर्माणमा नगरपालिकाले युवाहरूलाई जोड्ने नीति लिएको छ । 'सुरक्षित आवास निर्माण: नगरवासीको योगदान' भन्ने मान्यताका साथ पुनर्निर्माणमा नगरपालिकाका सबै युवाहरूलाई जोड्ने कार्यक्रम नगर प्रमुख केसीले पेस गरेको नीति कार्यक्रममा उल्लेख छ । 

Rabi-Kc-1719292727.jpg
नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रवि केसी ।

भूकम्पमा परी आठबिसकोटमा ४४ जनाको मृत्यु भएको थियो भने १० हजार बढी घरमा क्षति पुगेको नगरपालिकाको तथ्याङ्क छ । 

यसका अलावा नगरपालिकाले कृषि तथा पशुपालन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, पूर्वाधार, सहरी विकास र यातायात, समावेशीकरण, सहकारी, उद्यमशीलता र रोजगार, वन तथा जडीबुटी, जलस्रोत र सिँचाई, उद्योग र खानीलाई नीति कार्यक्रममा समेटेकाे छ । 

त्यस्तै सूचना, सञ्चार र विद्युत्, न्यायिक कार्य, धर्म, संस्कृति, कला, साहित्य, इतिहास तथा पर्यटन, विपत् व्यवस्थापन, सुशासन र संस्थागत विकास लगायतका विषयलाई प्राथमिकताका साथ समेटेर नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको छ । साेमबारबाट सुरु भएको नगर सभामा आज आगामी वर्षको अनुमानित बजेट पेस हुने छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update