Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले सोमबारको गाउँ सभामा ५१ करोड ३८ लाख ५३ हजार ५ सय १ रुपैयाँकाे बजेट पेस गर्नुभयो । उक्त बजेट मध्ये चालु तर्फ ३८ करोड २३ लाख ७ हजार ११ रुपैयाँ रहेको छ । यो कुल बजेटको ७४.४० प्रतिशत हो । त्यस्तै पुँजीगत अर्थात् विकास खर्च १३ करोड १५ लाख ४६ हजार ९८ रुपैयाँ अर्थात् २५.६० प्रतिशत रहेको छ ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड ३४ लाख, स्थानीय तह राजस्व बाँडफाँड ३० लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ९ करोड ६१ लाख १ रुपैयाँ रहेको गाउँपालिका उपाध्यक्ष रोकाले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

यस बाहेक सङ्घबाट समानीकरण अनुदान बापत ९ करोड १२ लाख, कर्णाली प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँड बापत ९ लाख ६७ हजार ८ सय ४०, समानीकरण अनुदान ९७ लाख ५३ हजार, सङ्घबाट सशर्त अनुदान चालु तर्फ २१ करोड ६६ लाख ६० हजार ५ सय, पुँजीगत तर्फ ३ करोड १९ लाख ६६ हजार र विशेष अनुदान पुँजीगत तर्फ ३ करोड ५९ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसका साथै सशर्त अनुदान २० लाख १५ हजार र गाउँपालिकाको चालु आव २०८०/०८१ को नगद मौज्दात ३६ लाख ६१ हजार १ सय ६० रुपैयाँ पनि आगामी वर्षमा खर्च हुने बजेट वक्तव्यमा उल्लेख छ । यसमा विभिन्न गैरसरकारी सङ्घ संस्थाको लागत साझेदारी १५ करोड ३३ लाख ५ सय ५५ हुने प्रक्षेपण गरिएको छ । नीति कार्यक्रम असार ९ गते पेस भएकोमा बजेट भने सोमबार असार १० गतेका दिन गाउँ सभामा पेस भएको हो ।   

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update