Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा: न्यु मुन लाइटका रुसन र अलेक्टर जिल्लाकै सर्वोत्कृष्ट 
रुकुम पश्चिममा सर्वाेत्कृष्ट जिपीएका साथ उत्तीर्ण हुने अलेक्टर ओली र रुसन रावत । फाेटाेः विद्यालय ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरिसकेको छ । जसअनुसार रुकुम पश्चिमको नतिजा राष्ट्रिय नतिजाको तुलनामा राम्रो देखिएको छ । जिल्लामा ६४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट साधारण र प्राविधिक धार तर्फ गरी कुल ३ हजार ५ सय ६६ जनाले परीक्षा फारम भरका थिए । जसमध्ये २ हजार २ सय ९० जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ६४.२१ प्रतिशत हो ।

१ हजार २ सय ६१ जना भने अनुत्तीर्ण अर्थात् नन ग्रेड भएका छन् । जिल्लाका ६७ जना विद्यार्थीले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका छन् । यो जिपीएमा उत्तीर्ण हुनेमा सबैभन्दा बढी प्राविधिक र साधारण तर्फ शीतल माविका ३४ जना रहेका छन् । उक्त विद्यालयबाट साधारण तर्फ १५ र प्राविधिक तर्फ १९ जनाले यो रेन्जमा जिपीए प्राप्त गरेका छन् । साधारण तर्फ भने मुसिकोट ५ को न्यु मुन लाइट बोर्डिङ स्कुलका १७ जनाले यो जिपीए प्राप्त गरेका छन् ।

जिल्लाभरमा व्यक्तिगत तर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी पनि यसै विद्यालयका छन् । यस विद्यालयका रुसन रावत र अलेक्टर ओलीले जिल्लामै सर्वोत्कृष्ट जीपिए ३.९५ प्राप्त गरेका छन् । यो नै जिल्लाका कुनै पनि विद्यार्थीले यस वर्षको एसइईमा प्राप्त गरेको सबैभन्दा राम्रो जिपीए हो । उनीहरु जिपीए ४ प्राप्त गर्न जम्मा पोइन्ट फाइभले मात्र चुके ।

यस विद्यालयबाट जम्मा ३२ जना विद्यार्थी इएइईमा सामेल भएकामा शतप्रतिशत नतिजा ल्याएको छ । १७ जनाले ३.६० वा त्यो भन्दा माथिको जिपीए प्राप्त गर्दा बाँकी सबै १५ जनाले ३.२० देखि ३.६० जिपीए सहित उत्तीर्ण भएका छन् ।  

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update