नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा कार्यालयमा ताला लागेको छ । शनिबार प्रेस युनियन रुकुम पश्चिमले सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको र नयाँ सदस्यता खारेज गरेको प्रति असन्तुष्ठी जनाउदै कार्यालयलमा ताला लगाएको हो । प्रेस युनियन जिल्ला शाखा रुकुमका अध्यक्ष उपाध्यक्ष लगायत युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुको सदस्यता खारेजप्रति असन्तुष्ठ जनाउँदै ताला लगाएको हो ।
महासंघको कुनैपनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिनै असहमति जनाइसकेको र यस विषयमा नेपाल पत्रकार महासंघका शाखा रुकुम, प्रदेश कार्यसमिति र केन्द्रीय कार्य समितिलाई समेत ध्यानार्कषण गरिएको प्रेस युनियन जिल्ला शाखा अध्यक्ष समित्रा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै सम्वाद नगरी वेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा युनियनले आपत्ति जनाएको छ । महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस, पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत वेवास्ता गरेको, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियनको ठहर छ शाखा अध्यक्ष केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विधि विधान विपरितका प्रतिवद्धता गरी महासंघलाई अन्योलमा पारेको समेत युनियनको आरोप छ ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नवढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ । महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी विधान अनुसार सदस्यता विवाद नटुगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरु आन्दोलित हुने र त्यसको परिणाम महासंघले नै बेहोर्नु पर्ने प्रेस युनियन रुकुम पश्चिमले चेतावनी दिएको छ ।


-1788004022.jpeg)

-1759842583.jpg)