Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यु मुन लाइट बोर्डिङमा तीन महिने मन्टेश्वरी तालिम सुरु 
तालिम उदघाटन कार्यक्रम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को न्यु मुन लाइट बोर्डिङ स्कुलमा तीन महिने मन्टेश्वरी तालिम सुरु भएको छ । विद्यालयमा कार्यरत शिक्षिकाहरूलाई विभिन्न व्यवहारिक शिक्षण सीप सिकाउने उद्देश्यले स्कुलले तालिमको आयोजना गरेको हो । तालिमका लागि सिटीएफ नेपालले प्राविधिक सहयोग गरेको छ । तालिममा यस स्कुलका १९ जना, सानोभेरी बोर्डिङका ३ जना र शाइकुमारी बोर्डिङ साँखका १ जना गरी २४ जना शिक्षिकाहरूको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल खड्क कँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढ्दो प्रविधिको विकाससँगै फेरिँदै गएको पठन पाठन शैलीका बारेमा सिकाउन तालिमको आयोजना गरिएको हाे । सामुदायिक विद्यालयका लागि सरकारले विभिन्न तालिमको आयोजना गर्ने भए पनि संस्थागत विद्यालयमा सीप विकास तालिमको अभाव रहेकोले आफूहरूले बेला बेलामा यस्ता तालिमको आयोजना गर्ने गरेको उहाँले बताउनुभयो । तालिमका सहभागीहरूलाई मुख्य गरी पूर्व प्राथमिक तहका विद्यार्थीहरूलाई कसरी पढाउने, कस्तो व्यवहार गर्ने भन्ने विषयमा सिकाइने बताइएको छ । त्यस्तै प्राथमिक तहका विद्यार्थीका लागि पठन पाठन सीप पनि सिकाइने छ ।

तालिमको बुधवार बिहान एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता समीरजङ्ग मल्लले तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उहाँले विद्यालय बालबालिकाका लागि महत्त्वपूर्ण थलो भएकोले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयहरू गम्भीर हुनुपर्ने बताउनुभयो । शिक्षकको क्षमता विकास देखि पठनपाठन मैत्री, बालबालिका मैत्री विद्यालय हुनुपर्नेमा उहाँको जोड छ ।

New-Moon-Light-Bording-1719976806.jpeg
त्यस्तै मुसिकोट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीले व्यवहारिक शिक्षाकाे महत्त्व बढ्दै गएको र यसका लागि शिक्षक शिक्षिकालाई क्षमता विकास तालिम निकै नै आवश्यक रहेको बताउनुभयो । प्रविधिको बढ्दो प्रयोगले शिक्षण शैली पनि सोही अनुसार अगाडी बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

तालिमका सहभागीहरूलाई सिटीएफ नेपालका अशोक सुवेदी र हिरा केसी सुवेदीले प्रशिक्षण दिनुहुने छ । विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल शरद गौतमको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन प्रिन्सिपल खड्क कँवरले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update