Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 
जिल्ला खाेप समन्वय समितिकाे बैठक ।

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकबाट रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा घोषणा गरिएको हो । जिल्लामा रहेका १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै १३ प्रकारका खोपको पूरा मात्रा पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

घरधुरी सर्वेक्षणबाट जिल्लामा १६ देखि ५९ महिना उमेर समूहका ८ हजार ७ सय ८८ बालबालिका फेला परेका थिए । उनीहरू मध्ये ९ जनाले खोप नपाएको र १ सय ५४ जनाले बिचमै खोप लगाउन छाडेको फेला परेकामा उनीहरूमा पनि खोपको मात्रा पुरा गरेको खड्काले बताउनुभयो । हरेक वर्ष लक्षित समूहका बालबालिकाले पुरा खोप लगाए नलगाएको बारेमा अनुगमन गर्ने र सबैले खोप पाएको सुनिश्चित भएको खण्डमा जिल्लालाई प्रत्येक वर्ष खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

जस अनुसार यो वर्ष पनि जिल्लामा कोही पनि लक्षित बालबालिका खोपबाट वञ्चित नभएको पाइएपछि जिल्लालाई खोप सुनिश्चित घोषणा गरिएको खड्काको भनाई छ । उहाँका अनुसार सबै पालिकालाई खोप सुनिश्चित घोषणा गरिएपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

आगामी दिनमा समेत जिल्लामा रहेका सबै बालबालिकाले सबै प्रकारको खोप पाउने सुनिश्चितताका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कोही पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैको योगदान आवश्यक रहेको उहाँको भनाई छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले कोही पनि बालबालिका खोपबाट वञ्चित नहुन भनेर मुसिकोट नगरपालिका गम्भीर रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोप सम्बन्धीका भ्रमहरूलाई चिर्दै तोकिएका उमेर समूहका सबै व्यक्तिलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो । बैठकमा जिल्ला खोप समन्वय समितिका सदस्य तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले गर्नुभएको थियो ।  

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update