प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो सेवा कार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रवार रिपोटर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पङ्गेनीले परिषद्को सेवा कार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने बताउनुभयाे ।
जसअन्तर्गत यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागिएकाे हाे । कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेट्री बक्स, प्राज्ञिक अङ्ग्रेजी बोलचाल पुस्तक, नेपाली वृहत् शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने पङ्गेनीले बताउनुभयाे ।
विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चित गर्दै नेपालको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक सङ्कल्प राखिएको जानकारी दिनुभयो ।
२०५२ सालदेखि शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी सङ्गठनको रूपमा विद्यार्थी, शिक्षक र शिक्षाविद् माझ काम गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद्न नेपालले केही समय अघि मात्रै पनि देशका सात वटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखी शिक्षा क्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको थियो ।
विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ कक्षा, बाल संस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।
यस्तै शैक्षिक एवम् सामाजिक मुद्दाहरूमा निरन्तर रचनात्मक एवम् सिर्जनात्मक कार्य गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवा कार्य अन्तर्गत गत तीन वर्षदेखि निरन्तर देशका अलगअलग जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । उसले २०७९ साल देखि देशका विभिन्न जिल्लामा शैक्षिक सामग्री वितरण गर्न सुरु गरेकाे हाे ।