
रुकुम पश्चिममा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लामा २०७४ साल देखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएकामा हालसम्म ८४ हजार २६ जना जोडिएका छन् । बर्सेनि स्वास्थ्य बिमामा जिल्लावासीको आकर्षण बढ्दै गएको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लामा बर्सेनि स्वास्थ्य बिमामा जोडिने नागरिकहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ । बितेको आर्थिक वर्षमा मात्र १९ हजार बिमित थपिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमका प्रमुख कमल डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८० को साउन १ गते देखि २०८१ को असार मसान्तसम्म जिल्लाभरबाट १९ हजार ५६ जना बिमित थपिएका हुन । यो सँगै जिल्लामा बिमितको सङ्ख्या ८४ हजार २६ जना पुगेको उहाँको भनाई छ । जसमा पुरुष ३९ हजार ५ सय ९० जना रहेका छन् भने महिला ४४ हजार ४ सय ३६ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी बिमित चौरजहारी नगरपालिकामा रहेका छन् । चौरजहारीमा ३० हजार ७ सय ९८ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् भने सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा ४ हजार ८ सय १२ जनाले स्वास्थ्य बिमा गरेको प्रमुख डाँगीले जानकारी दिनुभयो ।
त्यस्तै आठबिसकोट नगरपालिकामा १४ हजार ८ सय, सानीभेरी गाउँपालिकामा १४ हजार ३ सय २५, मुसिकोट नगरपालिकामा १३ हजार ८ सय ४८ र बाँफिकोट गाउँपालिकामा ५ हजार ४ सय ४३ जना स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको उहाँले बताउनुभयो । जिल्लामा ६ वटा स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेका छन् । स्वास्थ्य संस्था पनि चौरजहारीमै बढी रहेका छन् । चौरजहारीमा नगर अस्पताल चिन्नेबगर, चौरजहारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा स्वास्थ्य बिमितले सेवा पाइरहेका छन् ।
आठबिसकोटमा नगर अस्पताल राडी, सानीभेरीमा गाउँ अस्पताल छाटेबगर र मुसिकोटमा जिल्ला अस्पताल सल्लेमा पनि स्वास्थ्य बिमा गरेका बिरामीले उपचार सेवा पाइरहेका छन् । रुकुम पश्चिम कर्णाली प्रदेशमा बिमित सङ्ख्याका आधारमा तेस्रो स्थानमा रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमका प्रमुख डाँगीले बताउनुभयो । जिल्लामा स्वास्थ्य बिमितका सङ्ख्या सन्तोषजनक रहेको र यसलाई अझै बढाउने गरी स्थानीय तह सहित अन्य सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको उहाँको भनाई छ ।
स्वास्थ्य बिमाका लागि ५ जनासम्मको परिवारले ३५ सय प्रिमियम तिरेमा एक वर्षमा १ लाख बराबरको उपचार निःशुल्क हुन्छ भने ५ जना भन्दा बढी सदस्यको हकमा प्रति सदस्य ७ सय रुपैयाँ प्रिमियम थप हुँदै जान्छ भने २० हजारका दरले उपचार सेवा पनि थप हुँदै जाने उहाँले बताउनुभयो ।