
आज तीजको संस्कृतिमा विकृति
अनि
बेचैन देखिएका छन् ।
नारीहरूको कथा र व्यथा
सुख र दुःख
उकाली र ओरालीका
वेदनाहरू पोखिनुपर्ने
तीजको संस्कृतिमा
विसङ्गतिका शृङ्खलाहरू
असरल्ल परेका छन् ।
सभ्रान्त शैलीमा
कोटकी ठुली
१० हजारको हिल चप्पल लगाएर
८० हजारको पान बुट्टे हङकङको
साडी लगाएर
६, ७ तोलाको सुन भिरेर
एक लाखको आइफोन मोबाइल भिरेर
शरीरभरि मगमग बास आउने पाउडर दलेर
अन्तरेसँग सेल्फिमा मस्किँदै
सडकका गल्लीहरूमा
डेगका गीतहरूमा
तीजको नामुद संस्कृतिमा
ठाँटिएर रमाइरहेकी छे
आफ्नो स्वाभिमान र अस्तित्वलाई
ग्रिन कार्डको मझेरीमा बिसाएर
होनहार नारीको परिचय
दिइरहेकी छे कोटकी ठुली ।
यता,
जिउलातिरकी स्यानी
एक सयको प्लास्टिक चप्पल
दुई सयको पातलो धोती
नाक, कान रित्तो पारेर
पसिनाको भेलमा हतारिँदै
गन्धको वासना छोड्दै
सडकको छेउमा बसी
कोटकी ठुलीको चर्तिकला हेर्दै
प्रत्येक वर्ष
तीजको संस्कृति
धकेलिरहेकी छे
तीजको संस्कृतिमा
उच नीच
धनी र गरिबको खाडल
विकराल बन्न थालेको छ
केही पट्ठाहरू
राष्ट्रिय जलको मातमा
तीजको संस्कृतिमा
घुसपैठ गरेर
वितण्डाको फ्लोर र हाइलाइट्समा
स्वर्गको आनन्दमय बहाना
गरिरहेका छन् ।
कठै !
मेरो तीजको संस्कृति ।