
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा प्रथम वडा कप २०८१ सुरु भएको छ । वडाको लामाचौरमा वडा कप आइतबार सुरु भएको हो । वडा कप अन्तर्गत पुरुष भलिबल, घैटोफोर, रस्साकस्सी लगायत प्रतियोगिता जारी छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा वडाका युवाहरूले खुला शुद्ध वडा स्तरीय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा रुकुम पूर्व र रुकुम पश्चिमका १५ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
पुरुष भलिबल तर्फ प्रथम हुने टिमले नगद २० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद व्यवस्थापक गोविन्द खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमले नगद १५ हजार तथा र तेस्रो टिमले नगद १० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।
यस्तै घैटोफोरका विजेतालाई एक हजार पाँच सय तथा रस्साकस्सीमा विजेतालाई दुई हजार रुपैयाँका साथमा मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको खेलकुद व्यवस्थापक खत्रीले जानकारी दिनुभयो ।