Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती समाज दक्षिण कोरियाद्धारा डिग्रे मेलामा फोहोर व्यवस्थापन गर्न डस्विन सहयोग 

राप्ती समाज दक्षिण कोरियाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरका लागि डस्बिन वितरण गरेको छ । मेलाको समयमा मन्दिर आसपासमा हुने फोहोर व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले राप्ती समाज दक्षिण कोरियाले डस्विन वितरण गरेको जनाएको छ । बुधबार मन्दिरमा पुगेर समाजका सल्लाहकार जीवन खड्काले १० हजार रुपैयाँ बराबरका डस्बिन मन्दिर व्यवस्थापन समितिलाई प्रदान गर्नुभएको हो । 

मेलाको समयमा मन्दिरमा फोहोर धेरै बढ्ने भएका कारण फोहोर व्यवस्थापनमा सहजीकरण लागि डस्बिन सहयोग गरिएको समाजका सल्लाहकार खड्काले जानकारी दिनुभयो । डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसीले डस्बिन प्रदान गरेकोमा समाजलाई धन्यबाद ज्ञापन गर्नुका साथै मेलाको समयमा हुने फोहोर व्यवस्थापनमा ठुलो सहयोग पुगेको बताउनुभयो । डस्विन वितरण कार्यक्रममा डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष केसी, मन्दिरका पुजारी रामप्रसाद गौतम लगायतको सहभागीता रहेको थियो ।

साविकको राप्ती अञ्चलबाट दक्षिण कोरियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले उठाएको सहयोग रकमबाट डस्विन  प्रदान गरिकएको बताइएको छ । राप्ती समाज दक्षिण कोरियाले विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएको छ । केहि दिनमा रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दहको फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग गर्ने योजना बनाएको समाजले जनाएको छ । डिग्रेमा हरेक वर्ष हरिवोधिनी एकादशीबाट पूर्णिमासम्म ठुलो मेला लाग्ने गर्दछ । डिग्रे मन्दिरमा मंगलबारदेखि मेला जारी छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update