Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकार सही बाटोमा छ: काँग्रेस प्रवक्ता प्रकाशशरण महत

नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले वर्तमान सरकार सही बाटोमा रहेको बताउनुभएको छ । प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले काँग्रेस-एमालेकाे वर्तमान सरकार सही बाटोमा अघि बढिरहेको बताउनुभयो ।

`हामी पनि सरकारलाई सही बाटोमा उन्मुख हुनुपर्छ, सुशासन ठिक हुनुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ, जनताका अपेक्षाहरू पूर्ति गर्न कुनै कसर बाँकी राख्नु हुँदैन भनेर निरन्तर खबरदारी गरिरहेका छौँ, ध्यानाकर्षण गराइरहेका छौँ, उहाँले भन्नुभयाे- समन्वय संयन्त्र पनि बनेको छ, सरकार सही बाटोमा छ ।´

साथै उहाँले सरकार टिक्दैन भन्ने भ्रम समेत चिर्न सफल भएको बताउनुभयाे । `काँग्रेस र एमालेको सहकार्यलाई लिएर विभिन्न टिप्पणी भए, सरकार टिक्दैन भन्ने हल्ला फैलाइयो तर सरकार यो भ्रमलाई चर्न सफल भएका छौँ, सरकार लामो समय चल्छ,´ उहाँले भन्नू भयो ।

दोषी भए काँग्रेसकै मान्छे पनि कानुनी दायरामा आउनुपर्छ
पूर्व अर्थमन्त्री तथा काँग्रेस प्रवक्ता महतले सरकारले सबैलाई समान नजरले हेरेको दाबी गर्नुभयो । सरकारले आफ्नालाई बचाउने र विपक्षीलाई कानुन लगाउने रणनीतिलाई अँगालेको जनगुनासो बढ्दो छ नि भन्ने प्रश्नमा उहाँले सरकारले आफ्नालाई बचाउने र अरूलाई भेद गरेको छैन, गल्ती गरेका जो पनि कानुनी दायरामा आउनुपर्छ भन्नेमा सरकार र आफ्नो पार्टी दृढ रहेको दाबी गर्नुभयो ।

सहकारी प्रकरणलाई जोड्दै उहाँले गल्ती गरेको भए काँग्रेसकै मान्छेलाई पनि कारबाही हुने र यसमा पार्टीले पनि सहयोग गर्ने बताउनुभयो । अहिले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछाने पक्राउ पर्दा आन्दोलन गरिरहेको प्रसङ्ग जोड्दै विगतमा काँग्रेसका वरिष्ठ नेताहरू पक्राउ पर्दा पनि आफूहरूले अनुसन्धानमा सघाएको उल्लेख गर्नुभयो ।

उहाँकै पार्टीका नेता संलग्न संसदीय छानबिन समितिले नाम नै तोकेर कारबाही गर्नु भनेको अवस्थामा रवि लामिछाने लगायत पक्राउ परेको समेत बताउनुभयो । यो विषय अदालतमा गइसकेकोले अदालतले नै यो मुद्दा किनारा लगाउने समेत उहाँको भनाई थियो ।

यसैबिच उहाँले आसन्न उपनिर्वाचनमा काँग्रेसले आवश्यकताका आधारमा गठबन्धन गर्ने बताउनुभयो । यस विषयमा स्थानीय पार्टीले नै आवश्यकताका आधारमा गठबन्धन गर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update