Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगामा माओवादीकाे जनभेटघाट जारी

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जन भेटघाटलाई जारी राखेको छ । पार्टीका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरपूरा बुढा पुनलाई विजय बनाउनको लागि पार्टीले जन भेटघाटलाई तीव्र बनाएको हो । पुथामा मङ्सिर १६ गते उपाध्यक्ष पदको लागि उप-निर्वाचन हुन् लागेको छ । उप निर्वाचनलाई लक्षित गरेर पार्टीले तीन कमान्ड विभाजन गरेर जनतासँग चुनावी प्रचारप्रसार जारी राखेको हो । ३ नम्बर कमान्डले शुक्रवार वडा नम्बर ७ र ८ का जनतासँग भेटघाट गरेको छ ।

७ नम्बर वडाको जाङमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, वैकल्पिक प्रदेश सचिवालय सदस्य तिर्था पुन लगायतको टोलीले भेटघाट गरेको हो । भने ८ नम्बर वडाको चुम र गरालीका जनतासँग पार्टी केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, लुम्बिनी प्रदेश सदस्य द्वय ओमकुमारी शाही र जीवन केसी लगायतको टोलीले भेटघाट गर्नुका साथै जनताका गुनासा, सुझाव, सुन्दै टोल भेला, मतदाता सँग छलफलका साथै विकास निर्माण र पार्टीका गतिविधि लगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका केन्द्रीय अध्यक्ष शेर्पालीले जनतालाई ढुक्क भएर माओवादीलाई मत दिन आग्रह गर्नुभयो ।

विपक्षी पार्टीले अनेक भ्रम छरेर जनतासँग मत मागिरहेको भन्दै उहाँले माओवादीलाई ढुक्क भएर मत दिन अनुरोध गर्नुभयो । चुनाव चिन्ह हराएको नेकपा एमालेले माओवादीलाई गलत आरोप लगाएकोले जनतालाई त्यसको जवाफ मतबाट दिन उहाँको आग्रह छ । नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढा विरुद्ध नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेकी केशकुमारी तुलाचनले चुनाव चिन्ह रुखबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

रिक्त रहेको २ नम्बर अध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । गत भदौ २८ गते काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको पुथाउत्तरगंगा गाउँपालिकाको गाडी बागलुङमा दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नम्बर वडा अध्यक्ष जसबहादुर शेर्पालीकाे मृत्यु भएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update