हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । रुकुम पश्चिममा पनि औपचारिक रूपमा अभियानको सुरुवात गरिएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ खलङ्गामा औपचारिक कार्यक्रम भएको थियो ।
मुसिकोट नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा र्याली सहित मञ्चको कार्यक्रम भएको थियो । खलङ्गाको बाल मन्दिरबाट सुरु भएको र्याली कालिका स्थान, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, तल्लो बजार, पुष्पलाल चोक, अदालत मुनि, त्रिवेणी चोक, कालिका स्थान हुँदै पुनः बाल मन्दिरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायको प्रमुख र कर्णाली प्रदेश सभा सदस्य तुलशा मल्लको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य रोकायले महिला हिंसा न्यूनीकरण साझा सामाजिक मुद्दा बन्नुपर्ने बताउनुभयो । सबैको हातेमालोबाट लिङ्गका आधारमा हुने हिंसालाई अन्त्य गर्न सकिने उहाँको भनाई थियो ।
त्यस्तै विशेष अतिथि कर्णाली प्रदेश सभा सदस्य मल्लले यो अभियान महिलाको मात्र नभई साझा अभियान भएकोले सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो । लिङ्गका आधारमा हुने हिंसामा महिला बढी प्रभावित भएकोले महिलाहरू बढी सक्रिय भएका कारण यो अभियान महिलाको जस्तो मात्र हो भन्ने बुझाई रहेकामा यसमा सुधार हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बारेको कार्यपत्र मुसिकोट नगरपालिकाका कानुन अधिकृत ललित बुढाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका महिला तथा बालबालिका शाखाकी कमला मल्लले गर्नुभएको थियो । यो अभियान १६ दिनसम्म सञ्चालन हुने छ । अभियानका क्रममा वडा वडासम्मै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने मल्लले बताउनुभयो । कार्यक्रममा राजनीतिक दल, महिलाकाे क्षेत्रमा कार्यरत संघ संस्था लगायत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।
जिल्लाका अन्य पालिकाहरूमा समेत यो अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुने छन् । सम्बन्धित पालिकाहरूको आयोजनामा अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुने बताइएको छ ।




1686475760.jpg)


-1759842583.jpg)