वर्षौँ देखि अलपत्र परेको रुकुम पश्चिमको पितिवाङ खोला पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोला पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनबाट व्यवहारिक रूपमा पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको हो । संरक्षण निर्माण सेवाको चरम लापरबाहीका कारण वर्षौँ देखि यो पुल अलपत्र अवस्थामा रहेको छ । संरक्षण निर्माण सेवा र डिभिजन सडक कार्यालय चौरजहारीबिच २ वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण कार्य २०७८ को वैशाख ७ गते हुनुपर्ने थियो ।
५ करोड २८ लाख कुल लागतमा पुल निर्माणको सम्झौता भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण साढे ५ वर्षभन्दा लामो समय देखि पुल निर्माण कार्य अलपत्र परेको छ । हालसम्म पुलको एक साइडको पिलर उठाइएको छ भने अब एक साइडको पिलर उठाएर ढलान गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुल सिङ्गल स्पानको ३५ मिटर लामो छ । यो पुल निर्माणका लागि पछिल्लो पटक थप गरिएको समय माघ १० गतेसम्म छ । यो समयमा पुल निर्माणको काम सकिने उहाँको दाबी छ भने यो आर्थिक वर्षभित्र सबै प्रक्रिया पूरा गरेर गाडी समेत गुड्ने उहाँले बताउनुभयो ।

कानुनी रूपमा यो पुल निर्माणको ठेक्का संरक्षण निर्माण सेवासँगै रहेको तर व्यवहारिक रूपमा पुल निर्माणको जिम्मा यति विल्डर्सले पाएको बताइएको छ । निर्माण व्यवसायी बिचको आपसी समझदारीमा यति विल्डर्सले निर्माणको जिम्मा लिएको हो । यति विल्डर्सले पुल निर्माणको काम सुरु गरिसकेको छ । पुलका लागि आवश्यक सरिया लगायत सामग्री आइसकेको र पुल निर्माणका काम सुरु भइसकेको यति विल्डर्सका पितिवाङ खोला पुलका साइड इन्चार्ज समीर डाँगीले जानकारी दिनुभयो ।
पितिवाङ खोलामा पुल नहुँदा जिल्लावासीले वर्षौँ देखि दुःख भोग्न बाध्य भएकोले जसरी पनि पुल निर्माण गर्ने उद्देश्यले निर्माणको जिम्मा लिएको यति विल्डर्सका सञ्चालक भिमराज केसीले जानकारी दिनुभयो । कुनै पनि हालतमा पुल निर्माण हुन नदेखिएपछि आफूहरूले पुल निर्माणको जिम्मा लिएको उहाँले बताउनुभयो । तोकिएकै समयमा पुल निर्माण गर्ने उहाँको भनाई छ ।

यसैबिच प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी लगायतको टोलीले पुल निर्माण स्थलको अनुगमन गरेको छ । उक्त टोलीले संयुक्त रूपमा पुल निर्माण स्थलमा पुगेर पुल निर्माण कार्य सुरु भए नभएको, पुल निर्माणको समग्र अवस्था लगायतको विषयमा अनुगमन गरेको हो । जस क्रममा प्रतिनिधि सभा सदस्य शर्माले तीन महिना भित्रै पुल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । पुल निर्माण हुने अवस्था नदेखिएपछि आफूले वर्षौँ देखि निर्माण व्यवसायी फेर्न प्रयास गरेको तर सफल नभएको अवस्थामा अहिले व्यवहारिक रूपमा यति विल्डर्सले कामको जिम्मा पाएपछि अव पुल निर्माण हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो । छिटो भन्दा छिटो पुल निर्माण गरेर जनतालाई सेवा दिन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य रोकायले यसअघि जस्तो काम सुरु गर्ने तर बिचमै अलपत्र पार्ने र निर्माण सामग्री कवाडीमा बिक्री गर्ने अवस्था यो पटक नदोहोर्याउन निर्देशन दिनुभयो । जिल्लाकै निर्माण व्यवसायी भएकोले अब पुल निर्माणको काम सम्पन्न हुनेमा आफू आशावादी रहेको पनि उहाँले बताउनुभयो ।
पितिवाङ खोलाका कारण जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घ तथा प्रदेशका जनप्रतिनिधि सहित जिल्लाका जनप्रतिनिधिहरूले पनि जनताको गाली खाइरहेका छन् । पितिवाङ खोलामा पुल नहुँदा हरेक वर्ष वर्खायाममा यातायातका साधन अवरुद्ध हुने गरेका छन् । जसले गर्दा रुकुम भित्रिने तथा बाहिरिने हजारौँ यात्रुहरूले सास्ती भोग्ने गरेका छन् । जिल्लाकै निर्माण कम्पनी र अहिलेसम्म कुनै पनि योजना अलपत्र नपारेको यति विल्डर्सले पुलको जिम्मा लिएपछि अब भने पुल निर्माण सम्पन्न हुने आशा गरिएको छ ।







-1759842583.jpg)