
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधवार तीन नयाँ मन्त्री थप गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त गर्नुभएको हो ।
कर्णालीमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद महाशाखालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभेर आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बनाइएको हो ।
बुधवार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले राजीनामा दिएपछि नयाँ नियुक्ति गरिएको हो । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफैलाई राख्नुभएको छ । मुख्यमन्त्री सचिवालयले नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बिहीवार (भाेली) बिहान ११ बजे तय भएको जानकारी दिएको छ ।