 
                                                                        रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली काँग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ । आज भएका उप निर्वाचनमा नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतलाई ५३ मतले पराजित गर्दै खत्री वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल ११ सय मत खसेकामा उहाँले ५९० मत पाउनुभयो भने माओवादी केन्द्रका बस्नेतले ५३७ मत पाउनुभयो । यसअघि पनि यो वडा काँग्रेसले नै जितेको थियो । काँग्रेसका अलबहादुर खत्रीले ४६२ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत ल्याउनुभएको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी लगायतले गठबन्धन गरेका थिए ।
वडाध्यक्षमा २८ मतको फरक परेको थियो । हाल पनि यी नै दल मिलेर माओवादी विरुद्ध चुनाव लड्दा मतान्तर बढाएर ५३ मा पुर्याएका छन् । वडाध्यक्ष अलबहादुरको निधन भएपछि रिक्त वडाध्यक्षका लागि आइतबार उपचुनाव भएको हो । उपचुनावबाट वडाध्यक्षमा निर्वाचित हुने नेपाली काँग्रेसका मोतीराम स्वर्गीय वडाध्यक्ष अलबहादुरका सहोदर भाइ हुनुहुन्छ । काँग्रेसले सहानुभूतिको मत तान्न भाइ ३८ वर्षीय मोतीरामलाई उम्मेदवार बनायो र त्यो सफल पनि भएको छ । नवनिर्वाचित वडाध्यक्ष खुला सक्रिय राजनीतिमा भने हुनुहुन्थेन । उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । साढे १४ वर्ष शिक्षण पेसामा आबद्ध उहाँ एकाएक वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नेपाल राष्ट्रिय मावि घापाघारमा प्रावि तहको अस्थायी दरबन्दीमा शिक्षण गरिरहनुभएका मोतीराम दाइको निधन भएपछि राजनीतिमा होमिनुभयो । कार्तिक ५ गते राजीनामा दिएर उहाँ निर्वाचनमा होमिनुभएको थियो । लामो समय बिताएको शिक्षण पेसालाई चटक्क छाडेर खुला राजनीतिमा आउनु आफ्ना लागि सहज नभएको उहाँले बताउनुभयो । तर राजनीति र समाजमा दाइको योगदान तथा दाइको अधुरो सपना पूरा गर्न जोखिम मोलेर वडाध्यक्षको चुनावमा होमिएको उहाँ बताउनुहुन्छ । ‘दाइले जुनखालको योगदान समाजमा गर्नुभएको थियो, गर्दै हुनुहुन्थ्यो तर उहाँको असामयिक निधनले उहाँका सपना बिचमै मरेर गए, तर दाइका सपना पुरा गर्ने अठोटका साथ म निर्वाचनमा होमिए र जीत हासिल समेत गरे, अब दाइकै पदचापमा अघि बढ्छु,’ उहाँले भन्नुभयो ।
वडालाई नमुना बनाउँछु 
वडाध्यक्षमा निर्वाचित भएपछि खत्रीले वडालाई नमुना बनाउने बताउनुभयो । गाउँपालिकाका अन्य वडाको तुलनामा आफ्नो वडा ठुलो र विकट भएका कारण यसको मुहार फेर्ने गरी काम गर्ने उहाँले बताउनुभयो । कखरासँग कुराकानी गर्दै उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या हल गर्ने सहित वडाको समग्र विकासका लागि काम गर्ने बताउनुभयो । 
‘दाइको निधन भएपछि जनतामा निराशा थियो, उक्त निराशालाई आशामा बदल्न शिक्षकको जागिर छाडेर निर्वाचनमा होमिएको हुँ, जनताले विश्वास गरेर विजयी पनि बनाउनुभएको छ, दाइकै पदचापमा रहेर बलबुताले भ्याएसम्म वडाको विकासका लागि काम गर्छु, वडालाई नमुना बनाइछाड्छु,’ उहाँले भन्नुभयो । केही गर्नुपर्छ भन्ने हुटहुटीकै कारण आफू खुला राजनीतिमा आएको उहाँको भनाई छ ।  
 


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    