नेपाली पासपोर्ट एउटा बहुप्रतिभाशाली दस्ताबेज हो । यो पासपोर्टले नागरिकलाई देशभित्रको समस्याबाट "भाग्न" मात्र होइन, देश बाहिर पुगेर हराउन पनि उत्तिकै सहयोग गर्दछ । एउटा कूटनीतिक पासपोर्टले त झन् चमत्कार देखाउँछ । सस्तोमा विक्री हुने यस्ता पासपोर्टले मान्छेलाई सीधा मन्त्री, नेतादेखि मानव तस्करीसम्मको पवित्र यात्रामा पुर्याउँछ ।
तपाईँ खेलकुदमा देशलाई प्रतिनिधित्व गर्न विदेश जानुहुन्छ ? ढुक्क हुनुस्, त्यो प्रतिनिधित्व त्यहाँ स्थायी बसोबासको रूपमा परिणत हुनेछ । आखिर,आफ्नो प्रतिभाको सही कदर त्यहीँ हुन्छ!पर्यटन भिसा लिई जानुहुन्छ ? त्यो पनि सही निर्णय हो, घुमघामको नाउँमा हराएर जागिर खोज्नु र नयाँ जीवन सुरु गर्नु कुनै गुनासोको विषय होइन ।
मानौँ नेपाली पासपोर्ट आफैँले भनिरहेको छ: "जहाँ जाऊ,बस त्यहीँ को नागरिक बन्ने सपना देख।"अब समस्या भनेको मात्र यो हो कि, हामीले पासपोर्टलाई मात्र दोष दिनुहुन्न । जब नेताहरू नै 'पासपोर्ट व्यापारी' बनेर विदेशमा बेच्न थाल्छन्, तब सर्वसाधारणले के सिक्ने ?
नेपालले अब पासपोर्टको डिजाइनमा एउटा नयाँ लोगो राख्नुपर्छ, "विश्वलाई बस्न योग्य बनाउन सक्ने पासपोर्ट!" आखिर,नेपाली हामी जहाँ जान्छौँ, उतै स्थायित्व बनाउँछौँ । देशमा न स्थायित्व, न रोजगारी, तर विदेशमा नेपालीहरूले सधैँ नयाँ भविष्य खोज्छन् ।
निष्कर्षमा, यो पासपोर्टले हामीलाई मात्र होइन, मानव तस्कर, भ्रष्ट नेता र विदेशी कामदारहरूलाई पनि प्रेरणा दिन्छ । पासपोर्टले भनेकै छ: "घुम्न गएपछि फर्किने कुरा पुरानो भयो । अब बस्न जाओ ।